काठमाडौँ, साउन १५ । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन्। सोल्टी होटलमा आजदेखि सुरु हुने ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन उनी नेपाल आएकी हुन्।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने आयोजकले जनाएको छ। अभिनेत्री मनीषा कोइरालाको समेत कार्यक्रममा सहभागिता रहनेछ।
सम्मेलनमा भारतसहित विभिन्न सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुने बताइएको छ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लक्जरी वेडिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। कार्यक्रममा नेपालका पर्यटन तथा आतिथ्य क्षेत्रको सम्भावना, अन्तर्राष्ट्रिय विवाह पर्यटन र लक्जरी इभेन्टसम्बन्धी विषयमा छलफल हुने आयोजकको भनाइ छ।
Published Date: 31 July 2026