‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’

‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’ : Icon Khabar

काठमाडौँ, साउन १५ । नेपाल भाषाको पहिलो चलचित्रका रूपमा चिनिने ‘सिलु’ केवल एउटा चलचित्रको नाम मात्र होइन, नेवा: समुदायको सांस्कृतिक इतिहाससँग जोडिएको महत्वपूर्ण दस्तावेज पनि हो। यही ऐतिहासिक चलचित्रमा समावेश गीत ‘हाय हा हाय प्रभु स्वामि’ आज चार दशकपछि पनि जनमानसमा उत्तिकै लोकप्रिय छ। यस गीतका स्वरदाता हुन्—वरिष्ठ गायक जुजुकाजी रञ्जित।

वि.सं. २०४५ सालमा निर्माण भएको ‘सिलु’ रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डसँग सम्बन्धित लोकपरम्परा र संस्कृतिमा आधारित चलचित्र हो। जनै पूर्णिमाको अवसरमा हरेक वर्ष देशका विभिन्न स्थानबाट गोसाइँकुण्ड अर्थात् ‘सिलु’ जाने तीर्थयात्रीको परम्परा र त्यससँग जोडिएको सांस्कृतिक पक्षलाई चलचित्रले प्रस्तुत गरेको छ।

‘सिलु’मा समावेश ‘हाय हा हाय प्रभु स्वामि’ गीतले चलचित्रको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो। जुजुकाजी रञ्जित र गायिका रचना जिसीको स्वरमा रहेको उक्त गीत आज पनि नेवा: समुदायमा विशेष रूपमा स्मरण गरिन्छ।

रञ्जितका अनुसार यो गीतको रेकर्डिङ वि.सं. २०४२ सालमा काठमाडौँस्थित म्युजिक नेपालको एउटा सानो स्टुडियोमा गरिएको थियो। त्यतिबेला स्टुडियोमा पर्याप्त भेन्टिलेसनसमेत नभएको उनी सम्झन्छन्। गर्मीका कारण पसिनाले निथ्रुक्क हुँदै गीत रेकर्ड गरेको स्मरण सुनाउँदै रञ्जितले त्यो समयको सांगीतिक वातावरण र प्रविधि आजको भन्दा निकै फरक रहेको बताए।

गीतको रचनाकार र संगीतकारका विषयमा भने आफू पनि पूर्ण रूपमा जानकार नरहेको रञ्जितको भनाइ छ। तर, गीतको लोकप्रियता र सांस्कृतिक महत्वलाई हेर्दा यसले एउटा पुस्तादेखि अर्को पुस्तासम्म जोड्ने ऐतिहासिक भूमिका निर्वाह गरेको उनको बुझाइ छ।

आइकन खबरसँगको हालैको संवादमा रञ्जितले ‘हाय हा हाय प्रभु स्वामि’ केवल एउटा गीत नभई नेवा: समुदायको सांस्कृतिक सम्पत्ति भएको बताए। उनले सबैले यसको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए।

रञ्जितका अनुसार आफू सानै हुँदादेखि काठमाडौँ उपत्यकामा यो गीत लोकप्रिय थियो। अझ आफ्ना आमाबुवाको पुस्तादेखि नै गीत सुन्दै आएको स्मरण गर्दै उनले यसको इतिहास निकै पुरानो रहेको बताए।

‘सिलु’का अन्य गीतमा पनि रञ्जितको स्वर

‘सिलु’ चलचित्रमा रञ्जितले ‘हाय हा हाय प्रभु स्वामि’ मात्र होइन, ‘निम्हा तिपू सिलु वना’, ‘अबिरया होलि’ र ‘बाला मेयजु बाला’ लगायतका गीतमा पनि स्वर दिएका छन्। यी गीतहरू पनि लामो समयदेखि नेवा: समुदायमा लोकप्रिय रहँदै आएका छन्।

त्यतिबेला दशरथ रंगशालामा आयोजित अल नेपाल गायन प्रतियोगितामा आफू पुरस्कृत भएको स्मरण गर्दै रञ्जितले त्यसैको प्रभावले आफूले आदिवासी जनजातिको भाषामा निर्माण भएको ऐतिहासिक चलचित्र ‘सिलु’मा गीत गाउने अवसर पाएको बताए। त्यो अवसर आफ्ना लागि विशेष र स्मरणीय रहेको उनको भनाइ छ।

रेडियो नेपालबाट सुरु भएको सांगीतिक यात्रा

वि.सं. २०१२ साल असोज १६ गते काठमाडौँमा जन्मिएका जुजुकाजी रञ्जितले आफ्नो औपचारिक सांगीतिक यात्रा वि.सं. २०२२ सालबाट सुरु गरेका हुन्। सोही वर्ष उनले रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए।

वि.सं. २०५१ सालमा भारतको इलाहाबादबाट शास्त्रीय गायनमा ‘संगीत प्रभाकर’ अध्ययन पूरा गरेका रञ्जितले नेपाली चलचित्रको पार्श्व गायन, नेपाली आधुनिक संगीत तथा विशेषगरी नेपाल भाषाको गीत–संगीतमा महत्वपूर्ण योगदान दिएका छन्।

‘सिलु’सँगै उनले ‘भूमरी’, ‘रक्षा’, ‘सुन्दरी’ लगायतका नेपाली चलचित्रमा पनि स्वर दिएका छन्। मैथिली तथा भोजपुरी भाषाका गीतमा समेत उनले आफ्नो स्वर दिएका छन्।

इन्जिनियरिङदेखि संगीतसम्म

गायनसँगै रञ्जितको अर्को परिचय मेकानिकल इन्जिनियरका रूपमा पनि रहेको छ। वि.सं. २०३८ सालमा तत्कालीन सोभियत संघअन्तर्गत रुसको भोल्गा गाड पोलिटेक्निक इन्स्टिच्युट स्टेट युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले वि.सं. २०३९ सालमा नेपाल विद्युत प्राधिकरणमा मेकानिकल इन्जिनियरका रूपमा सेवा सुरु गरेका थिए।

नेपालका विभिन्न विद्युत् परियोजनामा निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका रञ्जितले तत्कालीन मध्यमाञ्चल तथा मध्यपश्चिमाञ्चल क्षेत्रको निर्देशकको जिम्मेवारीसमेत सम्हाले। उनले वि.सं. २०७० साल असोज १५ गते अनिवार्य अवकाश प्राप्त गरे।

तर, सरकारी सेवाबाट अवकाश लिए पनि उनको सांगीतिक यात्रा भने रोकिएन। बरु अवकाशपछि उनी संगीतमा थप सक्रिय हुँदै आएका छन्। व्यस्त जागिरे जीवनका कारण पूरा गर्न नसकेका सांगीतिक चाहनालाई अहिले नयाँ गीत, संगीत र एल्बममार्फत अघि बढाइरहेको रञ्जितको गतिविधिले देखाउँछ।

चार दशकअघि रेकर्ड गरिएको ‘हाय हा हाय प्रभु स्वामि’ आज पनि गुञ्जिरहनु जुजुकाजी रञ्जितको सांगीतिक योगदान मात्र होइन, नेपाल भाषा, नेवा: संस्कृति र नेपालको चलचित्र इतिहाससँग जोडिएको एउटा अमूल्य सांस्कृतिक विरासतको निरन्तरता पनि हो।

Published Date: 31 July 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु