काठमाडौं, साउन १४ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन्।
पूर्वराजा शाहका संवाद सचिवालय निर्मल निवासद्वारा जारी सन्देशमा नेपाली समाज सुरुदेखि नै परस्पर मिलीजुली, हाँसीखुसी र मायाप्रितीका साथ बस्दै आएको उल्लेख गरिएको छ। नेपालको समाज बहुजातीय तथा बहुभाषिक रहेको र विभिन्न धर्म, संस्कृति तथा परम्पराले नेपाली समाजलाई विशिष्ट बनाएको सन्देशमा भनिएको छ।
सन्देशमा भनिएको छ, “यो प्रकारको नेपाली विशेषता र गौरव गरिमालाई हामीले गुम्न दिनु हुँदैन। कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन।”
केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादबाट जनधनको क्षति भएको र त्यसको असर फैलिँदै गएर कोशी क्षेत्र तथा तराईका विभिन्न भागको जनजीवन अशान्त बनेकोप्रति दुःख व्यक्त गरिएको छ।
सन्देशमा समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा परिचित नेपालमा यस्ता अवाञ्छित घटना तथा दुर्घटना चिन्ताको विषय भएको उल्लेख गर्दै यस्ता गतिविधि मौलिक मूल्य र मान्यताविपरीत रहेको जनाइएको छ।
पूर्वराजा शाहले जुनसुकै भू–भागमा रहे पनि सबै नेपालीबीच एकता र सद्भाव कायम हुनुपर्नेमा जोड दिँदै भनेका छन्, “हामी नेपाली मिलौं। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो।”
सन्देशको अन्त्यमा “जय नेपाल” भनिएको छ।
Published Date: 30 July 2026