काठमाडौं, साउन १५ । सुनसरी घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा फैलिएको तनावका विषयमा प्रधानमन्त्री बालेन शाहले आज देशबासीका नाममा सम्बोधन गरेका छन्। उनको भिडियो सम्बोधन बालेन नामको भेरिफाइड फेसबुकमार्फत सार्वजनिक भएको छ।
यस्तो छ प्रधानमन्त्री बालेनले गरेको सम्बोधनको पूर्णपाठ :
नमस्कार
आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु।
केही दिन अघि सुनसरीको देवानगञ्ज सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ।
यस दु:खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता ओमप्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु।
घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वादीलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइएको छ।
घटना भए लगत्तै सबै सुरक्षा निकायहरुले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ म सबैमा विश्वास दिलाउन चाहन्छु।
यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
अवस्था थप नबिग्रियोस् कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।
परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ।
स्थानीय तह समेत जनप्रतिनिधि नागरिक समाज विभिन्न धार्मिक गुरुहरु समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरु सँग निरन्तर संवाद भइरहेको छ।
स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नु भएको छ।
साथै देशको समग्र शान्ति सुरक्षाको अवस्था बारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।
यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु। साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो।
आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ।
धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दु:खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन।
आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,
हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।
हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि।
धन्यवाद