फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी

फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी : Icon Khabar

काठमाडौं, असार १ । ३२ वर्षपछि फेरि फिफा विश्वकप संयुक्त राज्य अमेरिका फर्किएको छ । अमेरिकाले सन् १९९४ मा पहिलोपटक विश्वकप आयोजना गरेको थियो । जतिबेला प्रतियोगिताले अमेरिकामा फुटबलको लोकप्रियता बढाउन र दर्शक उपस्थितिको नयाँ कीर्तिमान कायम गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसपालीको संस्करण आकार, खर्च र व्यावसायिकताको हिसाबले अझै विशाल बनेको छ । टिकट मूल्यदेखि प्रतियोगिताको आकार, रंगशालाको पूर्वाधार र खेलाडीको सुविधासम्म हेर्दा पछिल्ला तीन दशकमा विश्व फुटबल कति परिवर्तन भएको छ भन्ने स्पष्ट देखिन्छ ।

प्रतियोगिताको आकार लगभग दोब्बर
दुई विश्वकपबीचको सबैभन्दा ठूलो अन्तर सहभागी टोलीको संख्या हो । सन् १९९४ को विश्वकप २४ टोली सहभागी भएको अन्तिम संस्करण थियो । त्यसपछि सन् १९९८ मा टोली संख्या बढाएर ३२ पुर्याइयो ।

सन् २०२६ मा फिफाले टोली संख्यालाई थप विस्तार गर्यो । अहिले ४८ टोलीले उपाधिका लागि आफ्नो चुनौती पेश गरिरहेका छन् । अब विश्वकप जित्ने टोलीले कूल ८ खेल खेल्नेछन् । जबकी पहिले सात खेल पर्याप्त हुन्थ्यो ।

टिकट मूल्यमा वृद्धि
यो ३२ वर्षको अन्तरालमा टिकट मूल्यमा अभूतपूर्व बृद्धि भएको छ । सन् १९९४ मा समूह चरणका खेलका टिकट २५ देखि ७५ अमेरिकी डलरसम्म उपलब्ध थिए । क्यालिफोर्नियाको पासाडेनास्थित रोज बाउलमा भएको फाइनलमा टिकट मुल्य १८० देखि ४७५ डलरसम्म थिए ।

तर, २०२६ मा स्थिति पूर्ण रुपमा फरक छ । समूह चरणका खेलका टिकट १४० देखि २ हजार ७ सय ३५ डलरसम्म पुगेका छन् भने फाइनलका टिकट ४ हजार १ सय ८५ देखि ८ हजार ६ सय ८० डलरसम्म बिक्री गरिएका थिए । पछि फिफाले फाइनलको सबैभन्दा महँगो टिकटको मूल्य बढाएर करिब १० हजार ९ सय ९० डलर पुर्यायो ।

यसपाली पहिलोपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरिएको छ, जसअनुसार टिकटको मूल्य माग र लोकप्रियताअनुसार परिवर्तन हुन्छ । यसले आम समर्थकका लागि विश्वकप हेर्न झन् कठिन बनाएको आलोचना पनि भइरहेको छ ।

तीन देशको संयुक्त आयोजना
सन् १९९४ को विश्वकप अमेरिकाका ९ रंगशालामा मात्र आयोजना गरिएको थियो । तर, २०२६ को विश्वकप तीन देश– अमेरिका, मेक्सिको र क्यानाडामा फैलिएको छ ।

प्रतियोगिताका लागि १६ रंगशाला प्रयोग हुन्छन् । जसमा अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानाडाका दुई रंगशाला समावेश छन् ।

फिफाले विश्वकपलाई अझ व्यापक बनाउने उद्धेश्यले तीन देशीय आयोजनाको अवधारणा ल्याएको हो । यद्यपि क्वार्टरफाइनलपछि हुने सबै खेल अमेरिकामै खेलाइनेछन् ।

रोचक कुरा के छ भने, १९९४ मा आयोजक शहरमध्येको एक शिकागो यसपटकको सूचीमा छैन । आर्थिक ग्यारेन्टीसम्बन्धी विषयमा फिफासँग सहमति नजुटेपछि शिकागोले आयोजक बन्न अस्वीकार गरेको थियो ।

दर्शकको उपस्थितिमा नयाँ कीर्तिमानको अपेक्षा
सन् १९९४ को विश्वकप अझै पनि दर्शक उपस्थितिको हिसाबले सबैभन्दा सफल विश्वकपमध्ये एक मानिन्छ । ५२ खेलमा कूल ३.५९ मिलियन दर्शक रंगशालामा पुगेका थिए, जसको औसत प्रति खेल झण्डै ६९ हजार थियो ।

यसपटक १०४ खेल हुने भएकाले कूल दर्शक संख्या ६ देखि ७ मिलियनसम्म पुग्ने अनुमान गरिएको छ । यदी त्यस्तो भयो भने विश्वकप इतिहासमा नयाँ कीर्तिमान स्थापित हुनेछ ।

आधुनिक रंगशाला
सन् १९९४ मा प्रतियोगिता विभिन्न एनएफएल रंगशालामा आयोजना गरिएको थियो । जसमा अहिले भत्काइसकिएका जायन्ट्स रंगशाला, फक्सबोरो रंगशाला, पोन्टियाक सिल्भरडोम र आरएफके रंगशाला पनि थिए ।

अहिले सन् २०२६ मा भने अमेरिकाका सबै ११ रंगशाला आधुनिक एनएफएल रंगशाला हुन् । जहाँ प्रशस्त लक्जरी सुइट, प्रिमियम सिटिङ र अत्याधुनिक दर्शक सुविधा उपलब्ध छन् ।

१९९४ का ऐतिहासिक रंगशालामध्ये रोज बाउल, कटन बाउल, सिट्रस बाउल र स्ट्यानफोर्ड रंगशाला यसपटक प्रयोग गरिएका छैनन् ।

खेलाडीको सुविधा र सुरक्षा
खेलाडीको सुविधा र सुरक्षामा पनि ठूलो परिवर्तन आएको छ । सन् १९९४ मा टोलीहरुले अत्याधिक गर्मीबीच कुनै ‘कुलिङ ब्रेक’ विना खेल्नुपथ्र्यो । कतिपय खेलमा मौसम नै मुख्य चुनौती बनेको थियो ।

२०२६ मा पनि सबैभन्दा चुनौतीको विषय गर्मी नै हो । तर, प्रत्येक हाफमा तीन मिनेटको ‘वाटर ब्रेक’ अनिवार्य गरिएको छ । यसले खेलाडीलाई आराम गर्ने अवसर मात्र होइन, प्रशिक्षकलाई पनि रणनीतिक निर्देशन दिने समय प्रदान गर्नेछ ।

मैदानको आकार पनि अहिले पूर्ण रुपमा ‘स्ट्यान्डरडाइज’ गरिएको छ । १९९४ मा केही रंगशालामा साँघुरा मैदान प्रयोग गर्न अनुमति दिइएको थियो । तर, यसपटक सबै मैदान फिफाको मापदण्डअनुसार परिमार्जन गरिएका छन् ।

बढी लचकता
आधुनिक फुटबलमा खेलाडीको स्वास्थ्य र शारीरिक व्वस्थापनलाई बढी प्राथमिकता दिइन्छ ।

सन् १९९४ मा टोलीहरुले केवल दुई खेलाडी परिवर्तन गर्न पाउँथे । विशेष अवस्थामा मात्र गोलकिपरका लागि अतिरिक्त परिवर्तनको व्यवस्था थियो ।

अहिले प्रत्येक टोलीले ‘रेगुलर टाइम’मा पाँच खेलाडी परिवर्तन गर्न सक्छन् । खेल अतिरिक्त समयमा पुगेमा छैटौं परिवर्तनको सुविधा छ भने ‘कन्कसन’ अर्थात टाउकोमा गम्भीर चोट लागेमा थप परिवर्तन गर्न सकिन्छ ।

यसले प्रशिक्षकलाई खेलाडीको थकान व्यवस्थापन गर्न र खेलको गति उच्च राख्न सहयोग पुर्याएको छ ।

Published Date: 15 June 2026


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु