भक्तपुर, जेठ ३१ । भक्तपुरका पर्यटन व्यवसायीहरूले दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म पर्यटकको सहज आवागमनका लागि इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। भक्तपुर नगरपालिकाले आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माणका लागि आयोजना गरेको राय–सुझाव संकलन कार्यक्रममा यस्तो सुझाव प्रस्तुत गरिएको हो।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र दिगो बनाउन आवश्यक सुझावहरूलाई नीति तथा कार्यक्रममा समेटेर अगाडि बढाइने बताए। बाह्य पर्यटकमा मात्र निर्भर रहँदा जोखिम बढ्ने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउन आवश्यक रहेको उनको भनाइ थियो। मौलिक तथा परम्परागत शैलीका घर निर्माणलाई नगरपालिकाले प्रोत्साहन गरिरहेको जानकारी पनि उनले दिए।
पर्यटन व्यवसायीहरूले दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन, पर्यटक लक्षित सटल बस सेवा, बेलुकासम्म सञ्चालन हुने स्थानीय यातायात, रात्रिकालीन बसाइँ तथा भक्तपुरको पहिचान झल्कने रात्रिकालीन जीवन विकास गर्नुपर्ने सुझाव दिएका थिए।
उनीहरूले ख्वपको पहिचान झल्कने डकुमेन्ट्री निर्माण, रैथाने वस्तु तथा मौलिक पसलहरूको प्रवर्द्धन, दाफा भजनलगायत सांस्कृतिक प्रस्तुति नियमित सञ्चालन, होटलहरूको वर्गीकरण, साउन्डप्रुफिङमा सहयोग, भुस्याहा कुकुर व्यवस्थापन तथा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई विशेष तालिम दिनुपर्ने आवश्यकता पनि औंल्याए।
त्यसैगरी डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउने, प्रवेश टिकटमा बिलिङ प्रणाली लागू गर्ने, अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरको प्रचार–प्रसार बढाउने, हर्न–फ्री र स्पिड लिमिट प्रभावकारी कार्यान्वयन गर्ने तथा ट्राफिक प्रहरीसँग समन्वय मजबुत बनाउनुपर्ने सुझाव पनि प्रस्तुत गरियो। औद्योगिक क्षेत्रलाई ‘क्राफ्ट भिलेज’का रूपमा विकास गर्ने, डिजिटल मिडियामार्फत पर्यटन प्रवर्द्धन गर्ने र खेलकुद पर्यटनलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए।
साथै भक्तपुरको मौलिक तान्त्रिक परम्परा, नवदुर्गा नाचलगायत अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने, मठमन्दिर र शक्तिपीठहरूको ऐतिहासिक तथा धार्मिक महत्व उजागर गरी धार्मिक पर्यटन विकास गर्नुपर्ने तथा दरबार क्षेत्रमा रहेका ऐतिहासिक चारधाम मन्दिरलाई विशेष धार्मिक गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुपर्ने सुझाव पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा होटल एशोसिएसन अफ भक्तपुर, भक्तपुर पर्यटन विकास समिति, पर्यटक प्रहरी भक्तपुर तथा नगरभित्र सञ्चालित विभिन्न होटल व्यवसायीहरूको सहभागिता रहेको थियो।
Published Date: 14 June 2026