नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर

नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर : Icon Khabar

काठमाडौँ, वैशाख १४ । नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको समग्र आधारभूत अवस्था सुदृढ देखिए पनि लाभांश वितरण गर्ने क्षमता भने कमजोर रहेको संकेत देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा केवल ०.३४ प्रतिशतले मात्र बढी हो। खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुँदा नाफामा पनि सीमित सुधार देखिएको हो।

बैंकको प्रतिशेयर आम्दानी (EPS) २५ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा रहेको छ, जसले बैंकको आधारभूत वित्तीय अवस्था बलियो रहेको पुष्टि गर्छ। साथै, न्यून कोष लागत र १३.०५ प्रतिशत पूँजीकोष पर्याप्तताले पनि बैंकको स्थायित्वलाई समर्थन गरेको छ। तर, ४.९६ प्रतिशत खराब कर्जा भने बैंकका लागि चिन्ताको विषय बनेको छ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्म ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यद्यपि, बैंकको वितरणयोग्य मुनाफा केवल ३२ करोड १३ लाख रुपैयाँ मात्र रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा छ, जसले लाभांश क्षमता कमजोर रहेको स्पष्ट पार्छ। आगामी त्रैमासमा कर्जा असुलीमा हुने सुधारले नै बैंकको वास्तविक लाभांश क्षमता निर्धारण गर्नेछ।

Published Date: 27 April 2026