पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न

पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न : Icon Khabar

काठमाडौँ, वैशाख १४ । धार्मिक पर्यटनको दृष्टिकोणमा पनौतीको कलाँती भूमिडाँडाको सेरोफेरोलाई समेटिएको वृत्तचित्र वैशाख १२ गते शनिबार एक समारोहका बीच प्रदर्शन गरिएको छ। पनौती नगरपालिका वडा नं. १२ स्थित कलाँती भूमिडाँडाको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक पक्ष समेटेर तयार गरिएको उक्त वृत्तचित्र भालेश्वर महादेव मन्दिर प्राङ्गणमा रहेको बालप्रकाश माध्यमिक विद्यालयको सभाहलमा उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस वृत्तचित्रमा कलाँती भूमिडाँडा र आसपासका विभिन्न स्थल समेटिएका छन्। वृत्तचित्रका निर्माता तथा लेखक परशुराम अधिकारी रहेका छन् भने सहनिर्मातामा जयराम के.सी. र कृष्णचन्द्र अधिकारी छन्। निर्देशन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजन विनायक पासाले गरेका छन्। दृश्य सम्पादन प्रशान्त श्रेष्ठ र स्वराङ्कन दुर्गाराज पाण्डेले गरेका छन्।

कार्यक्रममा बोल्दै प्रा.डा. जगमान गुरुङले पनौती क्षेत्रका धार्मिक, पौराणिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे चर्चा गरेका थिए। उनले भालेश्वरलाई नेपालका चौसठ्ठी ज्योतिर्लिङ्गमध्ये १० औं ज्योतिर्लिङ्गका रूपमा उल्लेख गर्दै यस वृत्तचित्रले पनौती, भूमिडाँडा, भालेश्वर मन्दिर, गुम्बा तथा देवीस्थलहरूको प्रचार–प्रसार देश–विदेशसम्म पुग्ने बताएका थिए।

साहित्यकार सूर्यप्रसाद लाकोजूले स्रष्टा, संस्कृति र सभ्यता संरक्षणमा चेतनशील वर्गको भूमिका आवश्यक रहेको बताए। उनले बृत्तचित्रले स्थानीय ज्ञान र पहिचानलाई छिटो दर्शकमाझ पुर्‍याउने भन्दै निर्माण टिमको प्रशंसा गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य डा. भरतप्रसाद बडालले कलाँती भूमिडाँडालाई कृषि वा उद्योगभन्दा पर्यटनमार्फत समृद्ध बनाउन सकिने धारणा राखे। उनले वृत्तचित्रले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

निर्देशक डा. राजन विनायक पासाले धार्मिक पर्यटनको सम्भावनालाई जोड दिँदै गुम्बा, भालेश्वर र पाँचदेवीलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके पर्यटन विस्तार हुने बताए। उनले वृत्तचित्रमा प्रस्तुत सुझावहरू कार्यान्वयनमा ल्याउन सके क्षेत्रको भविष्य उज्यालो हुने धारणा राखे।

विद्यालयका प्रधानाध्यापक विकास थापाले विद्यालयमै वृत्तचित्र प्रदर्शन आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै यसले क्षेत्रको पहिचान बढाउन महत्वपूर्ण योगदान दिने बताए।

कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष जयराम के.सी.ले अतिथिहरूलाई स्वागत गर्दै वृत्तचित्रले कलाँती भूमिडाँडाको पहिचान र पर्यटन प्रवर्द्धनमा सहयोग गरेको बताए।

कार्यक्रमको समापन गर्दै निर्माता परशुराम अधिकारीले करिब दुई वर्षको मेहनतपछि वृत्तचित्र तयार गरिएको जानकारी दिए। उनले निर्माण प्रक्रियामा स्थानीय क्षेत्रको गहिरो अध्ययन गर्ने अवसर मिलेको अनुभव सुनाए।

कार्यक्रममा वृत्तचित्र निर्माणमा सहयोग गर्नेहरूलाई कदरपत्र प्रदान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो दिइएको थियो। कार्यक्रमको सञ्चालन मिडियाकर्मी दुर्गाराज पाण्डेले गरेका थिए।

Published Date: 27 April 2026








ताजा
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने
अविरल हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा