काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने

काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने : Icon Khabar

काठमाडौँ, वैशाख १३ । काठमाडौंको टोखा नगरपालिकाले बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरेको छ। तर यो कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो।

बालबालिका जन्मेपछि नगरपालिकाले पाँच हजार ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रममा कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकारवाला बताउँछन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकोले थोरै मात्र बच्चाको बैंक खातामा रकम जम्मा भएको बताए। ‘हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस् भनेर पाँच हजार दिने भनेका थियौ‌‌‌,’ उनले भने, ‘तर त्यो कार्यक्रमअनुसार न्यून बच्चाको बैंक खाता खोलिएको छ।’

उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली पाँच हजार जम्मा गरिएको छ। नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए। उनका अनुसार बच्चालाई पाँच हजार उपलब्ध गराउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था छ।

‘हामीले तोकेको अस्पतालमा नगई अन्यन्त्र गएर सुत्केरी गराएका हुन सक्छन्,’ उनले भने, ‘त्यसैले होला एक वर्ष हुन लाग्दा एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ।’ नगरपालिकाले टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, वीर अस्पताल लगायतमा सुत्केरी गराउनुपर्ने भनी तोकेको छ।

कतिपयले तोकेका बाहेक अस्पतालमा सुत्केरी गराउँदा आमाबाट जन्मेका बच्चाको खातामा पाँच हजार जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए।

Published Date: 27 April 2026