भक्तपुर, चैत २९ । भक्तपुरको सूर्यविनायकस्थित मन्टेसरी एजुकेशन स्कूलले आफ्नो नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत विशेष अतिथि तथा मानव कल्याण समाजका अध्यक्ष सुमी मानव अतिथिका रूपमा सहभागी भएका थिए। साथै अभिभावक प्रतिनिधि जोसना तुईतुई र किकम्पा मन्टेसरीका प्रिन्सिपल राजेश लाखाले समेत आतिथ्यता ग्रहण गरेका थिए।
कार्यक्रममा विशेष अतिथि पुष्पराज बस्नेतले आजका अभिभावकहरूले आफ्ना साना बालबालिकासँग समय बिताउँदै सँगै बसेर खाना खाने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने तथा व्यवहारिक ज्ञान सिकाउँदै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। त्यस्तै, अतिथि सुमी मानवले आफ्नो मन्तव्यमा अभिभावक वर्गलाई उत्प्रेरणा दिने उद्देश्यले विभिन्न प्रेरणादायी प्रसंगहरू प्रस्तुत गरिन्।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीहरूको प्रगतिको समग्र जानकारी दिइन्। सो अवसरमा विद्यालयकी वरिष्ठ पोषण विज्ञ डा.कविता महर्जनलाई हालै विद्यावारिधि हासिल गरेको उपलक्ष्यमा विशेष सम्मान प्रदान गरिएको थियो। महर्जन नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सिनियर डाईटिसियनको कार्य सम्हाल्दै स्तन क्यान्सरका बिरामीहरूमा पोषणसम्बन्धी जनचेतना फैलाउँदै आएकी छन्।
त्यस्तै कार्यक्रममा जेष्ठ अभिभावकहरू जुहारी कुस्ले र केदार कृष्ण जोशीलाई सम्मानपत्र प्रदान गरियो भने विद्यालयमा दीर्घकालीन सेवा पुर्याउँदै आएकी कर्मचारी कृष्णमाया अवाललाई ‘निरन्तर सेवा सम्मान’ प्रदान गरिएको थियो। साथै उत्कृष्ट शिक्षकको अवार्ड प्रमिला नापितले पाएकी थिइन्।
विद्यार्थीहरूले राष्ट्रिय गान प्रस्तुत गरेपछि दीप प्रज्वलनमार्फत कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। सोही अवसरमा विद्यालय गान पनि सार्वजनिक गरिएको थियो, जसमा लोकप्रिय गायिका एन्जिला श्रेष्ठको स्वर, संगीत गुरू ओम श्रेष्ठको संगीत तथा विद्यालयका अध्यक्ष अच्युत प्रजापतिको रचना रहेको छ। उक्त योगदानका लागि गायिका श्रेष्ठ र संगीतकार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
शैक्षिक सत्र २०८२ का लागि ‘उत्कृष्ट उपस्थिति’, ‘उत्कृष्ट कक्षा प्रदर्शन’ र ‘वर्षका उत्कृष्ट शिक्षक’ लगायत विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो। साथै एस.के.जी. कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह समेत सम्पन्न गरिएको थियो, जहाँ उनीहरूलाई प्रमाणपत्र र टोपी प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै समारोहलाई सफलतापूर्वक समापन गरेको थियो। साथै कक्षा २ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाइ पनि गरिएको थियो।
Published Date: 12 April 2026