रवि लामिछाने–बालेन भेटवार्ता बाक्लिँदै, नयाँ राजनीतिक सहकार्यको संकेत

रवि लामिछाने–बालेन भेटवार्ता बाक्लिँदै, नयाँ राजनीतिक सहकार्यको संकेत : Icon Khabar

काठमाडौं, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो समय राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका छन् । नख्खु कारागारबाट मुक्त भएलगत्तै उनले विभिन्न राजनीतिक नेतृत्व तथा पार्टीगत गतिविधिमा सक्रियता बढाएका हुन् ।

गत शुक्रबार उच्च अदालत बुटवलको आदेशपछि रिहा भएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका थिए । काठमाडौं आगमनको सोही दिन शनिबार उनले जेन–जी आन्दोलनका घाइते तथा शहीद परिवारसँग भेटघाट गरे ।

त्यसपछि आइतबार पार्टी कार्यालयमा स्वागत कार्यक्रम र आन्तरिक बैठकमा सहभागी भएका लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसहितको सरकारी टोलीसँग औपचारिक छलफल पनि गरेका थिए ।

यसैबीच उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग दुईपटक भेटवार्ता गरिसकेका छन् । स्रोतका अनुसार हिजो भएको भेटवार्ता एक चरणको गम्भीर छलफलका रूपमा भएको थियो ।

छलफलमा मेयर बालेनको तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए भने रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।

भेटमा बालेन पक्षबाट दर्ता गरिएको ‘देश विकास पार्टी’ र रास्वपाबीच आगामी दिनमा कसरी सहकार्य गर्दै अघि बढ्ने भन्ने विषयमा छलफल भएको सहभागी एकजनाले जानकारी दिए ।

‘हिजो र आज दुवै दिनको छलफल सकारात्मक रह्यो,’ स्रोतले भन्यो, ‘सहकार्यको मोडालिटी र एजेन्डाबारे छलफल जारी छ, तर ठोस निष्कर्ष भने आइसकेको छैन।’

स्रोतका अनुसार आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव समेत बालेन पक्षबाट आएको छ ।

उनीहरू दुई दिनसम्म कमलपोखरीस्थित केन्द्रीय सदस्य असिम साहकै निवासमा छलफलमा बसेका थिए । रास्वपाका एक पदाधिकारीका अनुसार हाल पार्टीले विभिन्न दल तथा समूहसँग संवादलाई तीव्र बनाएको छ ।

‘करिब १० वटा दल र समूहसँग संवाद भइरहेको छ,’ ती पदाधिकारीले भने, ‘हामी अब आक्रामक ढंगले अघि बढ्ने तयारीमा छौं । एक–दुई दिनमै नयाँ राजनीतिक सन्देश आउन सक्छ।’

सभापति लामिछाने कारागारमा रहँदा रोकिएका केही राजनीतिक तयारीलाई पुनः गति दिन अहिले भेटवार्ता बढाइएको ती नेताले बताए ।

‘सर्तमा दुई सिट आउला कि नआउला भन्ने आधारमा एकता हुँदैन,’ उनले भने, ‘देशका लागि केही गर्ने सोच भएका शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन।’

Published Date: 23 December 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी