काठमाडौँ, पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन्।
उनले आफ्नो निर्वाचने क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने भदौ २३ र ३४ गतेको घटनामा घाइते भएका परिवारका सदस्यसँग समेत भेट गरेका छन्। रविले प्रधाानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरे। यति बेला रविले आफ्नो रफ्तार बढाएका छन्। उनले आफ्ना सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गरिरहेका छन्।
यसैबीच सोमबार साँझ रविले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लामो भलाकुसारी गरे। रास्वपाका एक जना नेताको घरमा भएको दुई नेताबीचको छलफलका धेरै विषय सार्वजनिक भएका छैनन्। तर उनीहरुबीच सौहार्दपूर्ण र अर्थपूर्ण भेटघाट भएको रास्वपा उपसभापति डिपी अर्याल बताउँछन्।
स्रोतका अनुसार रवि र बालेनबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको छ। नयाँ शक्तिहरुबीचको सहकार्यबाट मात्रै मुलुकले निकास पाउने निष्कर्ष निकालिएको सो भेटमा दुवै जना आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमत भएका छन्।
‘अहिले एक्ला एक्लै चुनावमा जाँदा त्यसको फाइदा पुराना दलहरुले उठाउने भएकाले निर्वाचनमा नयाँ दलहरुबीच सकेसम्म एकता गर्ने, तत्काल एकता सम्भव नभए गठबन्धन गरेर जाने विषयमा मोटामोटी सहमति भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘सोमबारको भेटले आम जनतामा नयाँ सन्देश प्रवाह गर्ने बाटो तय भएको छ।’
यसअघि पनि रवि नेतृत्वको रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेनको समूहबीच एकता गर्ने तयारी भएको थियो। तर, त्यो बेला कुलमानले एकीकृत पार्टीको अध्यक्षमा आफूलाई दाबी गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।
तर सोमबार रवि र बालेनबीच भएको छलफलपछि यी तीनवटै शक्ति गठबन्धन गरेर चुनावमा जाने विषयमा सकारात्मक भएका छन्। उनीहरुबीच तत्काल एकता गर्ने भन्दा पनि गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको बताइएको छ।
उनीहरुबीच कुनै पनि वहानमा निर्वाचन सार्न नहुने र तोकिएकै समयभित्र चुनाव गर्न भूमिका खेल्नेसमेत सहमति गरेका छन्। यतिबेला देश र जनताले परिवर्तन चाहेको भन्दै लचिलो बनेर निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको हो।
‘आज मुलुकलाई निकास दिनको लागि एउटै मुद्दा बोकेका सबै दल र समूह एक ठाउँमा उभिन के गर्नुपर्छ भन्ने विषयमा चर्चा भयो, यो सँगै सबै पक्षलाई अटाउने गरी कसरी वातावरण बनाउन सकिन्छ भन्ने विषयमा पनि गम्भीर छलफल भयो,’ रास्वपा नेता गणेश कार्की भन्छन्, ‘नेपाली जनताले आशा गरेको विषयमा नै संवाद भएको हो। एक प्रकारले भन्ने हो भने सोमबार ब्रेक थ्रु भएको छ।’
दुई नेताबीचको संवादमा विशेष गरी कुलमान नेतृत्वमा उज्याले नेपाल पार्टीसँग सहकार्य गर्ने विषयमा गहन छलफल भएको थियो। अब चाँडै कुलमानसँग संवाद गरेर सहकार्यको प्रस्तावलाई अन्तिम रुप दिने तयारी भएको स्रोतले जनाएको छ।
Published Date: 23 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news