२० वाणिज्य बैंकमा जनताको बचत ६६ खर्ब ६९ अर्ब

२० वाणिज्य बैंकमा जनताको बचत ६६ खर्ब ६९ अर्ब : Icon Khabar

काठमाडौं, मंसिर ८ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ६६ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी डिपोजिट ग्लोबल आइएमई बैंकमा रहेको छ । दोस्रोमा नबिल बैंक रहेको छ ।

त्यस्तै, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकमा जनताको निक्षेप रहेको छ । अहिलेसम्म सबैभन्दा बढी निक्षेप संकलन गर्ने ग्लोबल आइएमई सर्वसाधारणको ५ खर्ब ८२ अर्ब निक्षेप रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । गत वर्ष पहिलो त्रैमाससम्ममा ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप थियो । ग्लोबल आइएमई बैंकले ५ खर्ब ८२ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब २१ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

निक्षेप संकलन गर्ने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नबिल बैंकमा पहिलो त्रैमाससम्ममा ५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप छ, जुन गत वर्षको यही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो । गत वर्ष असोजसम्म नबिल बैंकले ५ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको थियो । नबिल बैंकले पहिलो त्रैमाससम्ममा ५ खर्ब ६६ अर्ब निक्षेपबाट ४ खर्ब २१ अर्ब लगानी गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा १.९९ प्रतिशतले बढी हो । गत वर्ष पहिलो त्रैमाससम्म ४ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेको थियो ।

सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा तेस्रो नम्बरमा रहेको छ राष्ट्रिय वाणिज्य बैंक । यो बैंकमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ खर्ब २८ अर्ब निक्षेप रहेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ५.५२ प्रतिशतले बढी हो । गत वर्ष पहिलो त्रैमाससम्मा ५ खर्ब रुपैयाँ निक्षेप जम्मा थियो ।

चौथो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (इनआइएमवी) रहेको छ । एनआईएमवीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो रकम गत वर्षको यही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । गत वर्ष पहिलो त्रैमाससम्ममा एनआईएमवीको कुल निक्षेप ४ खर्ब ७२ अर्ब रुपैयाँ थियो । करिब ५ खर्ब निक्षेप संकलन गरेको एनआईएमवीको कर्जा प्रवाह भने ३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १.१९ प्रतिशतले बढी हो ।

गत वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेप संकलन बढाउनेमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ भने दोस्रोमा नेपाल एसविआई बैंक रहेको छ । नविलले गत वर्षको तुलनामा ८ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने नेपाल एसवीआई बैंकले ६.७० प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २० मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप बढेको छ भने तीन बैंकको निक्षेप घटेको छ ।

निक्षेप घट्नेमा सबैभन्दा अगाडि सानिमा बैंक रहेको छ । सानिमाको निक्षेप २.५३ प्रतिशतले घटेर २ खर्ब ८० अर्बबाट २ खर्ब ७३ अर्बमा झरेको छ । त्यस्तै कुमारी बैंकको निक्षेप ३ अर्ब ६४ अर्बबाट १.१६ प्रतिशतले घटेर ३ खर्ब ६० अर्बमा झरेको छ । प्राइम कमर्सियल बैंकको निक्षेप संकलन ०.६१ प्रतिशतले घटेर २ खर्ब ६३ अर्बबाट २ खर्ब ६१ अर्बमा आएको छ ।

कर्जा लगानीतर्फ एनआईसी एसिया बैंकको लगानी सबैभन्दा बढी ५.३१ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमाससम्ममा एनआईसीको कुल कर्जा लगानी २ खर्ब २४ अर्ब रहेकोमा अहिले २ खर्ब १२ अर्बमा झरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी ३.८१ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमाससम्ममा यो बैंकको ७२ अर्ब लगानी रहेकोमा यस वर्ष २ अर्बले घटेर ७० अर्बमा झरेको छ ।

यस वर्ष सबैभन्दा बढी कर्जा लगानी एभरेष्ट बैंकको ६.५२ प्रतिशतले बढेको छ भने दोस्रोमा माछापुच्छ्रे बैंकको ५.३१ प्रतिशतले बढेको छ । २० वटा वाणिज्य बैंकमा हाल ६६ खर्ब ६९ अर्ब रुपैयाँ जनताको निक्षेप रहेको छ । यो रकम गत वर्षको भन्दा ३.५० प्रतिशतले बढी हो । गत वर्ष ६४ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप थियो ।

६६ खर्ब ६९ अर्ब रुपैयाँमध्ये हाल ४७ खर्ब ३८ अर्ब कर्जा प्रवाह भएको छ । यो गत वर्षको भन्दा १.६२ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2025
Website | + posts