काठमाडौं, असोज २६ । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार सन् २०५० सम्म क्यान्सरका केसहरू तीन करोड पुग्ने र १ करोड ८६ लाख मानिसको मृत्यु हुने सम्भावना छ ।
रिपोर्टअनुसार हृदय रोगपछि क्यान्सर अहिले संसारमा मृत्युको दोस्रो ठूलो कारण बनेको छ ।
क्यान्सर एउटा यस्तो घातक रोग हो, जसले विश्वभर करोडौं मानिसको जीवन प्रभावित गरिरहेको छ । नयाँ रिपोर्टले देखाएको छ कि सन् १९९० देखि २०२३ सम्म क्यान्सरका केस र मृत्यु दर दुवै तीव्र रूपमा बढेका छन् । उपचार र रोकथामका प्रयासमा प्रगति भएको छ तर रोगको फैलावट भने रोकिन सकेको छैन ।
अध्ययनका तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर १ करोड ८५ लाख मानिसमा क्यान्सर पत्ता लागेको थियो भने १ करोड ४ लाख मानिसको मृत्यु भएको थियो । यी तथ्यांकमा सामान्य छालाको क्यान्सर भने समावेश छैन ।
चिन्ताजनक कुरा यो हो कि नयाँ केसहरू मध्ये करिब ५८ प्रतिशत र मृत्युहरू मध्ये करिब ६६ प्रतिशत घटना कमजोर र मध्यम आय भएका देशहरूमा भएका थिए । यी देशहरू पहिले नै स्वास्थ्य सेवा पूर्ति गर्न संघर्षरत छन्, त्यसैले बढ्दो क्यान्सर भारले थप दबाब सिर्जना गर्न सक्छ ।
यस नयाँ विश्लेषणमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री, मृत्यु दर्ता प्रणाली र क्यान्सरका बिरामीका परिवार वा हेरचाहकर्तासँगका अन्तर्वार्ताबाट संकलित तथ्यांक प्रयोग गरिएको थियो । अध्ययनले सन् १९९० देखि २०२३ सम्म २०४ देश र क्षेत्रका ४७ प्रकारका क्यान्सर र ४४ जोखिम कारकको विश्लेषण गरेको छ ।
अध्ययनले सन् २०५० सम्म क्यान्सरको सम्भावित प्रभावको पनि अनुमान गरेको छ । साथै, सन् २०१५ देखि २०३० सम्म गैरसंक्रामक रोगहरूबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने संयुक्त राष्ट्रसंघको लक्ष्यमा विश्वले कति प्रगति गरेको छ भन्ने कुरा पनि मूल्यांकन गरिएको छ ।
यदि छिट्टै ठोस कदम नचालिए सन् २०५० सम्म क्यान्सरका बिरामीको संख्या ३ करोड ५ लाख पुग्नेछ र १ करोड ८६ लाख मानिसले ज्यान गुमाउने सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । यीमध्ये आधाभन्दा बढी केस र दुई तिहाइ मृत्यु कमजोर तथा मध्यम आय भएका देशहरूमा हुने अनुमान गरिएको छ ।
यसको अर्थ सन् २०५० सम्म नयाँ क्यान्सर केसमा ६०.७ प्रतिशत र मृत्युमा ७४.५ प्रतिशत वृद्धि हुनसक्छ । अध्ययनअनुसार सबैभन्दा तीव्र वृद्धि कमजोर र मध्यम आय भएका देशहरूमा हुनेछ, जहाँ मृत्यु दरमा करिब ९१ प्रतिशतसम्म वृद्धि हुनसक्छ, जबकि धनी देशहरूमा यो वृद्धि करिब ४३ प्रतिशतसम्म सीमित रहने अनुमान छ । – एजेन्सीहरुको सहयोगमा
Published Date: 12 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1