भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प : Icon Khabar

काराकस, असोज ९ । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

युएसजिएसले यस भूकम्पबाट सुनामीको कुनै महत्त्वपूर्ण खतरा नभएको भन्दै ‘कुनै कार्य आवश्यक छैन’ भन्ने सल्लाह जारी गरेको छ ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो । तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबो लगायतका सहरमा यसपटकको कम्पनले चेतावनी जारी भएको थियो । मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षति बिना’ भएको स्पष्ट पारे।

लगभग ८० प्रतिशत भेनेजुएलालीहरू भूकम्पीय क्षेत्रमा बस्छन् । सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन । त्यसअघि, सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए । – रासस/एएफपी

Published Date: 25 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी