नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने सामान्य बढ्यो

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, भदौ १८ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको ६८ हजार ५९४ पटकको कारोबारमा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ४० पैसा बढेर ३२३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको करिब साढे २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९३ प्रतिशत र विकास बैंकको ०.८५ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts