लिपुलेकमुनिका गाउँका पीडाः ‘न बाटो छ, न सञ्चार’

लिपुलेकमुनिका गाउँका पीडाः ‘न बाटो छ, न सञ्चार’ : Icon Khabar

दार्चुला, भदौ १८ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका। त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिंकर गाउँ।

तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिंकर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै। अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन्। पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

छाङ्गरुबाट तिंकर गाउँ पुग्न १० किलोमिटर दूरी छ। छाङ्गरुबाट तिंकर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ। गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिंकरको सम्पर्कविच्छेद भएको हो। छाङ्गरुदेखि तिंकर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ। मंसिरमा तिंकरवासीको बसाइँसराइ खलंगा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ।

बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढुवानी गर्न असहज भएको वडा नम्बर १ का वडासचिव विनोदसिंह बुढाथोकी बताउँछन्। अहिले स्थानीयले पुरानै मौज्दात खाद्यान्न खाइरहेका छन्। यस्तै बाटोको अवस्था रहने हो भने गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

“बाटोका लागि कुनै क्षेत्रबाट तत्कालै बजेट आउने सक्ने अवस्था छैन, बाटो निर्माण नहुने हो भने यहाँका नागरिकलाई मात्र नभई सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ हुन्छ, बिरामी भयो भने ल्याउन सक्ने अवस्था छैन”, सचिव बुढाथोकीले भने।

स्थानीय आस्तिक तिंकरीका अनुसार तिंकर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो। गाउँ नेटवर्कविहीन छ। स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। तिंकरबाट छाङ्गरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ। छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिंकरवासीले भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय वीरेन्द्र तिंकरी बताउँछन्।

ब्यास-१ को तिंकरमा ७० परिवारको बसोबास छ। यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए। तिंकरभन्दा छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरी बसेका छन्। टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन्।

गत वर्ष संघीय सरकारको विशेष अनुदानमा ब्यास-२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्योभन्दा अहिले पनि नागरिकको लागि हिँड्डुल गर्न पैदल बाटो राम्रो छैन।

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिङ्कर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ। “नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ”, उनले भने, “नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ।”

पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भू-भाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु तिंकरसम्म तीव्र गतिमा विकास निर्माण कार्य अघि बढाउनु अत्यावश्यक रहेको बताउँछन्। उनका अनुसार विकास निर्माणको कामले गति लिएमात्रै ती भूभाग हाम्रो उपस्थिति प्रमाणित हुनेछ।

अहिले गाउँपालिकाको छाङ्गरुदेखि तिंकर गाउँ जाने तीन काठे पुल सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले श्रमदानमा निर्माण गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए। बोहराका अनुसार नाम्पा खोला, तिंकर खोलामा बगाएको काठे पुल अहिले लगाएर आवतजावत गर्न सुरु गरिएको छ।

उनले केही ठाउँमा हिँड्डुल गर्न सक्ने गरी बाटो पनि खोलेको तर पशुचौपायासहित हिँड्डुल गर्न भने अझै बाटो नबनेको बताए। उनले भने, “बाटो निर्माणका लागि ठूलो रकमको आवश्यकत्ता छ, दुई वर्षअघि गाउँपालिकाले ठेक्का आब्ह्वान गरेर पैदलबाटो निर्माण गरेको थियो, तर त्यो पूरै बाढीले कटान गरेपछि तिंकरबासीलाई समस्या भएको छ।”

नरेन्द्रसिंह कार्की/रासस

Published Date: 03 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै