भारतले बन्द गर्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदीको बाँधका ढोकाहरू

भारतले बन्द गर्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदीको बाँधका ढोकाहरू : Icon Khabar

जम्मू कश्मीर, वैशाख २३ । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो ।

पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीको सतह १५ फिटमा झरेको बताइएको छ ।

पाकिस्तानमा चेनाबको पानीको सतह २२ फिट थियो, जुन पछिल्लो २४ घण्टामा ७ फिटले घटेको छ । भारतले पानी रोक्दा पञ्जाबका २४ महत्वपूर्ण शहरका ३ करोडभन्दा बढी मानिसहरूले ४ दिनपछि पिउने पानीको लागि समस्या हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटेको पाकिस्तानको इन्डस ९सिन्धु० रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले जानकारी दिए ।

पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका शहरहरूको ८० प्रतिशत जनसङ्ख्या पिउने पानीको लागि चेनाबको सतहको पानीमा निर्भर छन् ।

सिन्धु जल प्राधिकरणले भारतको यो कदमले बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । यता, पाकिस्तानी संसद्‌ले यसलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ ।

पहलगाम क्षेत्रमा आतङ्कवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ ।

पहलगाम आतङ्कवादी हमलापछि भारतले सिन्धु जल सन्धिलाई स्थगित गरेको छ । १९ सेप्टेम्बर १९६० मा भारत र पाकिस्तानबीच ६ नदीको पानी बाँडफाँड गर्न सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो ।

सम्झौताअन्तर्गत भारतलाई तीन पूर्वी नदीहरू (रावी, ब्यास र सतलज) मा अधिकार प्राप्त भयो, जबकि पाकिस्तानलाई तीन पश्चिमी नदीहरू (सिन्धु, झेलम र चेनाब) प्रयोग गर्न अनुमति दिइयो ।

पाकिस्तानको ८० प्रतिशत कृषि सिन्धु, झेलम र चेनाब नदीको पानीमा निर्भर छ । अब भारतले यी नदीहरूको पानी रोकेपछि पाकिस्तानमा पानीको सङ्कट गहिरिँदै जानेछ । त्यहाँको आर्थिक अवस्था बिग्रनेछ ।

यसबाहेक, पाकिस्तानले धेरै बाँध र जलविद्युत् परियोजनाहरूबाट बिजुली उत्पादन गर्छ । पानीको अभावले विद्युत् उत्पादनमा गिरावट आउन सक्छ, जसले आर्थिक र औद्योगिक गतिविधिहरूमा असर पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 06 May 2025
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)