भारतले बन्द गर्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदीको बाँधका ढोकाहरू

भारतले बन्द गर्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदीको बाँधका ढोकाहरू : Icon Khabar

जम्मू कश्मीर, वैशाख २३ । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो ।

पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीको सतह १५ फिटमा झरेको बताइएको छ ।

पाकिस्तानमा चेनाबको पानीको सतह २२ फिट थियो, जुन पछिल्लो २४ घण्टामा ७ फिटले घटेको छ । भारतले पानी रोक्दा पञ्जाबका २४ महत्वपूर्ण शहरका ३ करोडभन्दा बढी मानिसहरूले ४ दिनपछि पिउने पानीको लागि समस्या हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतवार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटेको पाकिस्तानको इन्डस ९सिन्धु० रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले जानकारी दिए ।

पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका शहरहरूको ८० प्रतिशत जनसङ्ख्या पिउने पानीको लागि चेनाबको सतहको पानीमा निर्भर छन् ।

सिन्धु जल प्राधिकरणले भारतको यो कदमले बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । यता, पाकिस्तानी संसद्‌ले यसलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ ।

पहलगाम क्षेत्रमा आतङ्कवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ ।

पहलगाम आतङ्कवादी हमलापछि भारतले सिन्धु जल सन्धिलाई स्थगित गरेको छ । १९ सेप्टेम्बर १९६० मा भारत र पाकिस्तानबीच ६ नदीको पानी बाँडफाँड गर्न सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो ।

सम्झौताअन्तर्गत भारतलाई तीन पूर्वी नदीहरू (रावी, ब्यास र सतलज) मा अधिकार प्राप्त भयो, जबकि पाकिस्तानलाई तीन पश्चिमी नदीहरू (सिन्धु, झेलम र चेनाब) प्रयोग गर्न अनुमति दिइयो ।

पाकिस्तानको ८० प्रतिशत कृषि सिन्धु, झेलम र चेनाब नदीको पानीमा निर्भर छ । अब भारतले यी नदीहरूको पानी रोकेपछि पाकिस्तानमा पानीको सङ्कट गहिरिँदै जानेछ । त्यहाँको आर्थिक अवस्था बिग्रनेछ ।

यसबाहेक, पाकिस्तानले धेरै बाँध र जलविद्युत् परियोजनाहरूबाट बिजुली उत्पादन गर्छ । पानीको अभावले विद्युत् उत्पादनमा गिरावट आउन सक्छ, जसले आर्थिक र औद्योगिक गतिविधिहरूमा असर पार्नेछ ।

Published Date: 06 May 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी