जग्गा उपलब्ध नगराए भक्तपुरबाट राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी

जग्गा उपलब्ध नगराए भक्तपुरबाट राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र सार्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी : Icon Khabar

भक्तपुर, वैशाख १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई स्थानान्तरण गर्न सकिने चेतावनी दिएका छन् । बिहीबार केन्द्रको १३औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले केन्द्रको लागि आवश्यक जग्गा भक्तपुर जिल्लामा उपलब्ध नभए अन्यत्रै सारिने चेतावनी दिएका हुन् ।

एक उपयुक्त ठाउँसहित प्रस्ताव आएको खुलासा गर्दै उनले भक्तपुरमा जग्गा नपाए त्यो बिकल्पमा जान बाध्य हुने बताए । यद्यपि कता सार्ने भन्ने उनले स्पष्ट भने पारेनन् ।

मन्त्री पौडेलले केन्द्रको सेवा विस्तारका लागि सरकार आवश्यक पूर्वाधार निर्माणमा गम्भीर रहेको तर, स्थानीय तहले आवश्यक सहयोग नगरेको भन्दै भक्तपुरका स्थानीय सरकारमाथि प्रश्न उठाएका थिए ।

हाल भक्तपुर अस्पताल परिसरभित्र रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा स्थानान्तरण गर्ने प्रक्रिया वर्षौंदेखि अल्झिएको छ। त्यहाँ जग्गा पाएपनि केन्द्र सारिएको छैन । केन्द्रले उक्त जग्गा अनुपयुक्त भएको बताउदै आएको छ ।

कार्यक्रममा अतिथि तथा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले झौखेलबाहेक सुडालमा रहेको ३५ रोपनी १२ आना जग्गा अस्पताललाई दिने निर्णय गरिसकेको जानकारी गराए । उक्त निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी रहेको उनको भनाइ छ ।

सो अवसरमा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले स्थान अभावका कारण मागअनुसार सेवा दिन नसकेको गुनासो गरेका थिए ।

भक्तपुर अस्पतालको जग्गा र भवन ओगटेर केन्द्र सञ्चालन हुँदा एकातर्फ केन्द्रलाई स्थान अभाव भएको छ भने भक्तपुर अस्पताल पनि खिम्चिनु परेको प्रति बागमती प्रदेश सरकारकी सचिव डा सुमित्रा गौतम नै असन्तुष्ट छिन् । भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत सञ्चालित छ भने अंग प्रत्यारोपण केन्द्रलाई संघीय सरकारले चलाइरहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर प्रहरी प्रमुख रहेका एसपी माधव बुढाथोकी, केन्द्रका चिकित्सक, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो। – नन्स्टप खबरबाट साभार

Published Date: 26 April 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न