एमसिसी नेपालका केही कार्य अगाडि बढाउन अनुमति प्रदान

एमसिसी नेपालका केही कार्य अगाडि बढाउन अनुमति प्रदान : Icon Khabar

काठमाडौँ, चैत १० । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसिए नेपालले जनाएको छ ।

अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य रहेको एमसिए नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । ‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ’ सूचनामा जनाइएको छ । त्यस्तै सूचनामा अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको पनि उल्लेख गरिएको छ ।

एमसिएस नेपालले जारी गरेको सूचनामा तत्कालका लागि काम अगाडि बढाउन अनुमति प्रदान गरिए पनि अमेरिकी सरकारको समीक्षाबाट बाहिर निस्कन सक्ने परिणामप्रति भने कुनै सङ्केत नगर्ने प्रस्ट पारिएको छ ।

यसअघि अमेरिकी सहायता संस्था एमसिसीले गत फागुन २ गते अर्थ मन्त्रालयलाई इमेलमार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो । एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपतिको सन् २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेश अनुसार रोकिएको जानकारी गराइएको मन्त्रालयले जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समालेसँगै अमेरिकाले प्रदान गरिरहेको अनुदान कार्यक्रम ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका थिए । उक्त अवधिमा अनुदानको प्रकृतिको मूल्याङ्कन गरेर मात्र निरन्तरताको निर्णय गर्ने उहाँको आदेश थियो । सोही अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत विश्वभर प्रवाह भइरहेको अनुदान रोकिएको छ । नेपालमा पनि नियोगमार्फत अनुदानमा सञ्चालन भएका कार्यक्रम स्थगित छन् ।

विश्वव्यापी गरिबीलाई कम गर्ने उद्देश्यसहित अमेरिकी सरकारले अविकसित र विकासोन्मुख मुलुकमा विकासका परियोजना सञ्चालन गर्ने भन्दै एमसिसी फन्ड सञ्चालनमा ल्याएको थियो । सोही फन्डमार्फत नेपालमा पनि प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान उपलब्ध गराउने गरी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सरकारबिच कम्प्याक्टमा सम्झौता भएको थियो । नेपाल सरकारले १९७ मिलियन डलर योगदान गर्ने गरी परियोजनामार्फत तीन सय किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्यसहित सम्झौता गरिएको थियो । सोही सम्झौता अनुसार नेपालमा मिलेनियम च्यालेन्ज एकाउन्ट नाममा कार्यालय स्थापना गरेर परियोजना अघि बढाइएको हो ।

उक्त सम्झौता लामो समय विवादित बनेको थियो । राजनीतिक विवादका बिच १२ बुँदे व्याख्यासहित नेपालको संसद्ले २०७८ फागुन १५ गते एमसिसी सम्झौता पारित गरेको थियो । संसद्बाट सम्झौता पारित भएसँगै प्रसारण लाइन निर्माणका लागि एमसिए नेपालले जग्गा अधिकरणलगायतका कामका लागि बोलपत्र आह्वानलगायतका प्रक्रियागत काम सञ्चालन गरिरहेको छ । भुक्तानी रोकिएसँगै एमसिसी परियोजनाका सम्पूर्ण काम पनि तत्कालका लागि यथास्थितिमै रोकिने अर्थ मन्त्रालयले जनाएको छ ।

Published Date: 23 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी