लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर, ५ जनाको मृत्यु

लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर, ५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, पुस २५ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणबाहिर पुगेको छ।

मंगलबार लस एन्जलसको प्यालिसेड्सबाट सुरू भएको डढेलो हालसम्म कम्तिमा २५ हजार एकडसम्म फैलिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।

तीव्र गतिमा चलेको हुण्डरीका कारण डढेलो एक स्थानबाट अर्को स्थानमा सरेको र केही क्षणमै ठूलो रूप लिएको बताइएको छ।

प्यालिसेड्समा डढेलो १५ हजार ८०० एकडमा फैलिएको छ। त्यहाँ आगो निभाउनका लागि १ हजार ७९२ जना अग्निनियन्त्रक र सुरक्षाकर्मी परिचालन गरिएको छ।

विभिन्न क्षेत्रमा फैलिएको डढेलोलाई विभिन्न नाम दिइएको छ। अहिलेसम्म ६ ठाउँमा डढेलोले भयानक रूप लिएको अमेरिकी अखबार सिएनएनले जनाएको छ। ती डढेलोलाई प्यालिसेड्स, हर्स्ट, वुड्ली, इटन, लिडिया र सनसेट डढेलोको नाम दिइएको छ।

हलिउड हिल्स क्षेत्रमा पनि डढेलो प्रवेश गरेको छ। अमेरिकी सिनेमा उद्योगको प्रमुख केन्द्र हो हलिउड हिल्स। त्यहाँ २० एकडमा डढेलो फैलिसकेको न्यूयोर्क टाइम्सले जनाएको छ। डढेलो प्रवेश गरेपछि त्यहाँ बसोबास गर्दै आएका कलाकारहरूले त्यस ठाउँ छाडेका छन्।

मंगलबारदेखि लागेको डढेलो नियन्त्रण गर्न हजारौंको संख्यामा अग्निनियन्त्रकहरू खटाइएको भएपनि उनीहरूको प्रयास विफल भएको छ। बरू नयाँ नयाँ ठाउँमा डढेलो फैलिएको छ।

डढेलोबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न ठाउँका गरी १ हजार भन्दा बढी घरहरू जलेका छन्। १ लाख भन्दा बढी मानिसहरूलाई ठाउँ खाली गरेर अन्यत्र जान चेतावनी दिइएको छ।

डढेलोका कारण प्रभावित ठाउँहरूमा पानी र विद्युतको आपूर्ति बन्द भएको छ। डढेलो नियन्त्रणबाहिर गएपछि लस एन्जलसमा आपतकाल घोषणा गरिएको छ। त्यहाँको मौसम विभागले शुक्रबारसम्म सतर्क रहन भनेको थियो।

लस एन्जलसमा डढेलो व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले इटालीको रोम भ्रमण रद्द गरेका छन्। डढेलो नियन्त्रमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले राष्ट्रपतिले रोम भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2025
Website | + posts