बाक्लो हुस्सु चल्न थालेपछि मधेसको जनजीवन प्रभावित

बाक्लो हुस्सु चल्न थालेपछि मधेसको जनजीवन प्रभावित : Icon Khabar

जलेश्वर (महोत्तरी), पुस १६ । पछिल्ला दिनमा चिसो र बाक्लो हुस्सु चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताए ।

शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताए ।

चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको संख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिए ।

उनले भने, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ”दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।

जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गरे । उनले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रुपमा चिसोबाट प्रभावित भएको बताए । – रासस

Published Date: 31 December 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग