गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु: अध्यक्ष दाहाल

गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु: अध्यक्ष दाहाल : Icon Khabar

काठमाडौँ, पुस १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन । उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणम बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए। उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए ।

उनले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गर्नुभएको आरोप लगाउँदै बद्मासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।

उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु, उहाँको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बद्मासीलाई पर्दाफास गरेरै छोड्नेछु । गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ । किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो । गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो । त्यसपछि एउटा आतंक भएको हो । मैले सदनमा पनि भनेको छु, तपाईंहरुको अगाडि पनि भन्न चाहन्छु, चुनौतिका साथ कुनैपनि हालतमा नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न दिइने छैन । त्यसलाई हरहालतमा बचाइनेछ । र संविधान संशोधन जनताको अधिकार थप्नका लागि आदिवासी जनजातिलाई अझ अधिकार सम्पन्न बनाउनको लागि, महिलालाई अझ विशेष अधिकार दिलाउन, मधेसी, सबैसबै आदिवासी जनजातिलाई पनि अधिकार थप्नका लागि संविधान संशोधन हुन्छ । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई नै छ । किनकी संविधान सभामा माओवादी केन्द्रले नै भिन्न मत राखेको छ ।’

अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिवद्धता जनाए । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताए ।

Published Date: 31 December 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता