भक्तपुर, पुस १३ । आइकन मिडिया हाउस प्रा.लि, भक्तपुर र आइकन खबर डटकमको दोश्रो वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको छ। सोहि अवसरमा कम्पनीले “भक्तपुर जिल्लाको व्यवसायिक वातावरणमा हाम्रो चासो” विषयमा प्यानल छलफल गरिएको हो।
कार्यक्रममा उक्त मिडिया कम्पनीको २ वर्षे यात्रामा गरेका विभिन्न गतिविधि तथा कार्यक्रमबारे कम्पनीका अध्यक्ष किरण सुवालले प्रस्तुत गरेका थिए । आफु जन्मेको माटो भक्तपुर जिल्ला भएको कारण सोहि मिडिया कम्पनीले व्यावसायिक रूपमा विभिन्न मिडिया सेवाहरु प्रदान गर्दै आएकोमा सुवालले जोड दिए। यहाँ संचालन हुने विभिन्न व्यापारिक संघ संस्थालाई समयको माग अनुसारको मिडियामा आफ्नो सेवा, सुविधाहरु प्रचार प्रसार गर्न प्रेरणा दिदै आएको उनले बताए।
गोर्खा इको प्यानलले मुख्य प्रायोजन गरेको सो कार्यक्रममा आरगस एजुकेशनको सह प्रायोजन, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्बर अफ कर्मर्श, एरिकाज एजुकेशनल सर्भिसेस, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि, जिरो वान स्टुडियो, वि किड्स स्कूल, एजे स्कूल र होटल सिटि गाउँको सहयोग रहेको थियो।
सो प्यानल छलफलमा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वसँग भक्तपुर जिल्लाको व्यवसायिक वातावरणको अवस्था, चुनौती, समस्या र अवसरहरुका बारेमा कुराकानी भएको हो। प्यानल छलफल भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठ, होटल एसोसिएसन अफ भक्तपुरका अध्यक्ष सत्यराम सुवाल, अग्रज व्यवसायी विश्व राम कवांबीच भएको थियो।
उपस्थित सम्पूर्ण प्यानालिष्टहरुले आइकन मिडिया हाउस प्रा.लि. र आइकन खबर डटकम जस्तो युवाहरुले संचालन गरेको मिडिया कम्पनीले राष्ट्रिय स्तरको कार्यक्रम गर्नु भक्तपुरकै गौरव रहेको बताउंदै शुभकामना ब्यक्त गरे।
भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले जिल्लामा संचालित विभिन्न उद्योग तथा वाणिज्य संघ संस्थालाई चेम्बरले हरेक कुरामा सहयोग गर्दै आएको बताए। देशको समग्र व्यवसायिक क्षेत्रमा नकारात्मक अवस्था सिर्जना भैरहेको समयमा सम्पूर्ण मिडिया हाउसले सकारात्मक पक्षलाई बढि उजागर गर्नुपर्ने बताए।
त्यसैगरी अर्का प्यानलिष्ट भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले विदेशीने तरखरमा रहेका युवा पुस्तालाई घरेलु संघले संचालन गर्दै आएको गो लोकल अर्थात स्थानिय उत्पादनलाई प्राथमिकता र यसको बजारीकरणमा अभिप्रेरित गर्दै युवालाई स्वदेशमै घरेलु उद्योग संचालन गरि जीविको पार्जन गर्न सकिने कुराहरु गर्दै आएको बताए।
कार्यक्रममा अर्का प्यानालिष्ट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा संचालित विभिन्न बचत तथा ऋण सहकारीहरु को अवस्था र चुनौतीहरुका बारेमा छलफल गरे। उनले भक्तपुर जिल्लामा रहेका समुदायमा आधारित सहकारी राम्रैसँग संचालन हुँदै आएको तर सहकारीलाइ प्रयोग गरी आफ्नो भरण पोषण गर्दै आएको शिब शिखर जस्तो सहकारीले जनताहरुमा नैराश्यता जगाएको बताए।
अग्रज व्यवसायी विश्व राम कवांले भक्तपुर जिल्लामा आफुले ईटा व्यवसाय संचालन भएपनि आजभोलि प्रदुषण रहित प्रविधिलाई अपनाउंदै आएको बताए। सबै समूहका मानिसले पनि सजिलैसँग छिटै सिक्न सक्ने काम ईटा व्यवसाय भएको कुरामा जोड दिए। साथै उनले व्यवसायीक वातावरणलाई सुधार्न व्यवसायी आफुले नै प्रयत्न गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा उपस्थित भक्तपुर होटल एसोसिएसन अफ भक्तपुरका अध्यक्ष सत्यराम सुवालले हालसालै सम्पन्न भक्तपुर महोत्सव २०८१ ले भक्तपुर नगरमा संचालित होटल तथा गेष्ट हाउसहरुलाई कुनै लाभ नभएको बताए। ५ दिन लामो महोत्सवले होटलको अकुपेन्सीलाई कुनै फाइदा नगरेको प्रति दुख ब्यक्त गरे। साथै उनले भक्तपुर नगरको सम्पदा क्षेत्रमा रातको समयमा लाईटिङ्गको समस्या जस्ताको तेस्तै रहेको कुरालाई जोड दिदै यसमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।
प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबंजा श्रेष्ठले जिल्लामा संचालित संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्याउन्दै आएको योगदानका बारेमा चर्चा गरे। संस्थागत विद्यालयहरुका कारण नै शिक्षाको स्तरमा सुधार हुँदै आएको भएता पनि सरकारले यसलाई हेर्ने नजर निकै नै फरक भएको कुरा बताउंदै यसमा सुधार्नु पर्ने बताए।
प्यानल छलफलको अन्त्यमा सहभागीहरु अनिल कसपाल, पुरुषोत्तम ग्वाछा, कृष्ण बहादुर प्रजापतिले आ आफ्नो जिज्ञासा पनि ब्यक्त गरेका थिए। कम्पनीलाई नियमित रूपमा विज्ञापन उपलब्ध गराई सहयोग गर्ने पुरु प्लास्टिक मटेरियल्स र कृष्णाज मेकअप इन्स्टिट्युटलाइ सम्मान गरिएको थियो। साथै उपस्थित प्यानलिष्टहरुलाई मायाको चिनो वितरण गर्नुका साथै कार्यक्रमका प्रायोजक र सहयोगी संघ संस्थालाई समान पत्र वितरण गरेको कुरा कम्पनीका प्रबन्ध निर्देशक अमित श्यामाले जानकारी दिए।
दोश्रो वार्षिकोत्सव तथा प्यानल छलफल कार्यक्रम संचारकर्मी सुरज राजथलाले गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण प्यानालिष्टहरुलाई मायाको चिनो वितरण गरिएको थियो।
Published Date: 28 December 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1