भक्तपुर, पुस १ । रामेश्वर मचामसी, भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सवको तेस्रो दिन पनि महेश्वरी खेल मैदानको व्यापार मेलामा अवलोकनकर्ताहरूको भिड रह्यो । आइतबार ब्यापार मेलामा लोकप्रिय गायिका निशा देसारले आफ्नो प्रस्तुति दिएकी थिइन्। भक्तपुर युवा टीमको व्यवस्थापनमा आयोजना भैरहेको ब्यापार मेलामा आज सोमबार प्रवेश निशुल्क हुने भएको छ।
शुक्रबारबाट भएको व्यापार मेलामा शुक्रबारदेखि सोमबार बेलुकासम्म दश हजारभन्दा बढीले अवलोकन गरिसकेको जानकारी व्यापार मेला व्यवस्थापन गरिरहेको भक्तपुर युवा टीमका अध्यक्ष केशब त्वानाबासूले दिए।
व्यापार मेलामा बाल उद्यानलगायत विभिन्न खेलकुदका गतिविधि र सांगीतिक कार्यक्रम पनि भएकोले व्यापार मेला अवलोकनकर्ताहरूको चाप बढेको हो । भक्तपुर बसेर व्यवसाय गरिरहेका आफ्नो छोरालाई भेट्न आएका खोटाङ जिल्लाका ८३ वर्षीय कर्णबहादुर कटुवालकाअनुसार भक्तपुरका विभिन्न ठाउँ घुम्दै व्यापार मेला हेर्न आउनु भएको बताउछन् ।
उनले भक्तपुर जिल्ला पहिले एकदुई पटक आउनुभए पनि पहिलो पटक भक्तपुर नगर प्रवेश गर्नुभएको जानकारी दिए । यही समयमा भक्तपुर महोत्सव पनि आयोजना भएको र यसै मौका पारेर जीवनको उतराद्र्धमा भक्तपुरका विभिन्न ठाउँमा धेरै पुराना कला, संस्कृति र सम्पदाको अवलोकन गर्न पाउँदा आफू भाग्यमानी र धेरै पूराना मूर्तिकलाहरू हेर्न पाएकोमा खुसी भएको बताए।
आफ्नो परिवारसंगै घुम्न आउनुभएका अर्का खोटाङ निवासी ५६ वर्षीय बिर्ख बस्नेतले भक्तपुर महोत्सवमा रहेका धेरै स्थानहरूमध्ये अधिकांश ठाउँ घुमिसकेको जानकारी बताए। आफूले भक्तपुर नगरभित्र घुमेका धेरै स्थानहरूमा थुप्रै पुराना मठमन्दिर, भक्तपुरको कला, संस्कृति र सम्पदाका साथै नेवारी संस्कृतिका विभिन्न संस्कार, आफूले अहिलेसम्मको जीवनमा कहिले पनि नदेखेको बाजागाजा प्रत्यक्ष देख्न पाउँदा आफूले भक्तपुरलाई अझ नजिकबाट चिन्ने अवसर पाएको बताए।
भक्तपुरले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाब उनको रहको छ । व्यापार मेलाका व्यवसायी सरिता बस्नेतले भक्तपुुर महोत्सवको अवसरमा आफूलगायत आफूजस्तै थुप्रै व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुभएकोमा भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
व्यापार कस्तो रहेको छ भन्ने जिज्ञासामा उनी भन्छन, ‘शुक्रबारको पहिलो दिनमाभन्दा शनिबार र आइतबारको दिनमा व्यापार मेला अवलोकन गर्न र घुम्न आउनेहरूको संख्या अत्यधिक बढेको छ ।’ धेरै टाढाबाट आएर भक्तपुर महोत्सवको अवसरमा व्यवसाय गर्नु पाउनु आफूजस्तै साधारण व्यवसायीको लागि आयोजक भक्तपुर नगरपालिकाले राम्रो मौका दिएको बताए।
भक्तपुर महोत्सवकै अवसरमा भक्तपुरका विभिन्न ठाउँमा भजन र नसाः ब्वज्या (हलिमली) पनि भइरहेको छ । यसै क्रममा भक्तपुर हनुमानघाटमा भजन र नसाः ब्वज्या (हलिमली) प्रदर्शन गरिरहेको डम्बरेश्वर भजन मण्डलका लालाखिं बाद्यक इन्द्रमान ग्वाछाका अनुसार भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षणका लागि यसरी समयसमयमा गरिरहेको गतिविधि धेरै नै प्रशंसनीय रहेको बताए ।
डम्बरेश्वर भजन मण्डलकै अर्का भजन गायक तथा लालाखिं बाद्यक न्हुछेनारां मचामसीले भक्तपुर नगरभित्र रहेका थुप्रै डाफाभजनहरूलाई यसरी बेलामौकामा विभिन्न अवसर पारेर बाहिर ल्याउने कार्य धेरै राम्रो भएको र यसले भक्तपुरको संस्कृतिको संरक्षण अझ हुँदै जाने बताए। ।
भक्तपुर महोत्सवअन्तर्गत नै गोल्मढी, यातामा भइरहको सहकारी गतिविधि तथा प्रदर्शनीमा तेस्रो दिन पनि चालू नै रह्यो ।
भक्तपुर महोत्सवको यातामा प्राथमिक उपचार केन्द्रमा सेवा दिइरहेका स्टाफ नर्स आस्था सुवालले सहकारी गतिविधि र प्रदर्शनी गतिविधिमा पहिलो र दोस्रो दिनमाभन्दा तेस्रो दिन आइतबार प्रदर्शनी हेर्न आउनहरूको संख्या धेरै बढेको बताए। उनकाअनुसार प्राथमिक उपचार केन्द्रमा विरामी, चोटपटक लागेकाभन्दा प्रेसर नाप्नेहरू बढी आएका छन् । भक्तपुर महोत्सवमा सेवा गरिरहेका आफूहरू घुम्न नपाएपनि महोत्सवमा घुम्न आउनेहरूलाई सेवा गर्न पाएकोमा नै खुसी लागेको जानकारी दिए।
सहकारी गतिविधि तथा प्रदर्शनी स्थलमा खाजा स्टल राखिरहेको सहलह साकोसका महिला समितिका सदस्य लक्ष्मी कवांकाअनुसार तेस्रो दिन महोत्सव हेर्न आउनेको संख्या बढेको र विषेश गरी नेवारी खाजा समेबजी खान रूचाएको बताए । सहकारीबाट विभिन्न समयमा दिएको दही बनाउने तालिम, झोल साबुन र डल्ला साबुन तालिमबाट सिकेको सिपबाट सदस्यहरूले घरमै बनाएको सामग्री बनाएर प्रदर्शनी स्टलमा राखेको छ ।
भक्तपुर महोत्सवको आयोजनामा भइरहेको भक्तपुर महोत्सवअन्तर्गतको सहकारीको विषेश कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सोमबार सहकारी गतिविधि प्रदर्शनीस्थल गोल्मढी यातामा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित सहकारी विशेष पुस्तक पनि सोही अवसरमा विमोचन हुँदैछ।
Published Date: 16 December 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news