कार्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

कार्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो : Icon Khabar

काठमाडौं, असोज ३० । कार्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ ।

असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।

सार्वजनिक सूचनाअनुसार कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।

स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् ।

कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् । बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

Published Date: 16 October 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु