भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन

भक्तपुरमा नापतौल डोर कार्यक्रम सञ्चालन : Icon Khabar

भक्तपुर, भदौ १९ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा मंगलबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । पहिलो दिन भक्तपुर नगरपालिकाको वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएको संघले जनाएको छ ।

आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका कोषाध्यक्ष एवं संघअन्तर्गतको बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् ।

संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत १९ गते बुधबार सुकुलढोका पाटीमा डोर कार्यालय राखेर टोलीले सेवा दिने भएको छ । यसैगरी, २० गते बिहीबार लिवाली चोकस्थित एसएन मेटल वर्कसप परिसरमा, २३ गते आइतबार कमलविनायकस्थित बिग मार्ट परिसरमा, २४ गते सोमबार बाराही मन्दिरनजिक डोर कार्यालय रहने छ ।

त्यसैगरी, २५ गते मंगलबार सल्लाघारी चोङा गणेश मन्दिर तलको ढुंगेधारा पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ ।

भक्तपुर नगरपालिकाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौंका सहायक निरीक्षक गोविन्द पहारीले बताए ।

Published Date: 04 September 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली