भक्तपुरमा सापारुका लागि यहि भदौ १ गतेभित्र टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरू हटाउने

भक्तपुरमा सापारुका लागि यहि भदौ १ गतेभित्र टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरू हटाउने : Icon Khabar

भक्तपुर, साउन २९ । भक्तपुरमा २०८१ सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने विषयमा सोमबार सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैसको सो बैठकमा बोल्दै प्रजापतिले भक्तपुर नपाले सापारुको उपलक्ष्यमा विगत वर्षहरुमा झैं यस वर्ष पनि परम्परागत र आधुनिक सांस्कृतिक विधाहरुको संरक्षण र सम्वर्द्वन गर्न सांस्कृतिक प्रस्तुतीहरुको मूल्यांकन गरी पुरस्कृत गर्ने निर्णय गरेको बताए।

बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरूमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरू हटाउन यही २०८१ साल भदौ १ गतेभित्र सबैले आआफ्नो तारहरू व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरू नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको छ।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, केबल नेटवर्क तथा वडा निरीक्षकसहितको समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2
Published Date: 13 August 2024
Website | + posts