आज गथांमग चर्‍हे, यस पर्व सम्बन्धिको एक किंवदन्ती

आज गथांमग चर्‍हे, यस पर्व सम्बन्धिको एक किंवदन्ती : Icon Khabar

काठमाडौं, साउन १८ । नेपाल संवत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग चर्‍हे । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो ।

सिथिनख:लाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्‍हे भनिन्छ । सिथिनख:लाई म्ह्यामचा नख: (केटीहरुको चाड) भनिन्छ भने यस चाडलाई कायमचा नख: (केटाहरुको चाड) भनिन्छ । भलभल अष्टमी पछि बन्द भएको खिं, त: बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ । यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ ।

महादेवको सृष्टिका निमित्त भक्तपुरको अखण्डशिल महाविहारबाट माटो ल्याई महादेवको मुकुन्दो बनाउने गर्दछ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुँदैनन् । सिनाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर) लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ ।

पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अश्लिल शब्द बोलेर गाली गरि लैजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि “रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव” भन्दै भगवानको नाम लिन्दै फर्किने गर्दछ ।

गँ (घण्टा) था (बजाउनु) मुग (हथौड़ा) भएकै कारण यस चाडलाई गथांमुग भनिन्छ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो ।

यसैदिन “छें बौ बिगु” भनी घरको सुदृढीकरण पुजा पनि गर्दछ भने हातमा फलामको औंठी पनि लगाउने गर्दछ । पहाड तिर लुटो फाल्ने भनेर घरको छट छटमा आगो बाल्ने गरे झै काठमाण्डौ उपत्यकामा यसरी नै आगो बाल्ने चाडको रुपमा गथंमुग चर्‍हेलाई लिइन्छ ।

भक्तपुरको थिमीमा रहेको बालकुमारीसंगैको पोखरीमा यसदिन विशेष जात्रा हुने गर्दछ । जात्रालुहरुले फालेको राँगाको खुट्टालाई उक्त पोखरीमा फालिन्छ र केही व्यक्तिहरुले पौडी खेलेर भेटाइन्छ । उक्त भेटाएको खुट्टा मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन: पोखरीमा फ्याकिन्छ । यहि क्रम दुई घण्टा जस्तो चल्ने गर्दछ ।

नेपालमा मनाउने पर्वलाई गथामुग भनिन्छ भने यस्तै प्रकृतीको चलन भारतको बनारसमा पनि रहेको छ । जसलाई घण्टाकर्ण भनिन्छ ।

भगवान हरिहरको सृष्टि बारे एक किंवदन्ती

भनिन्छ घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले “हरि र शंकर” एउटै हो भनेर देखाउन “हरिहर”को रुपको दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे । सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्टा झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये रे त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको भनि किवंदन्तीमा उल्लेख गरिएको छ ।

-लेखक: गणेश रंजित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 02 August 2024
गणेश रंजित
+ posts