भक्तपुरमा आज पिँडालु उसिनेर खाने पर्व सकिमना पुन्हि मनाइंदै (विस्तृत जानकारी सहित)

भक्तपुरमा आज पिँडालु उसिनेर खाने पर्व सकिमना पुन्हि मनाइंदै (विस्तृत जानकारी सहित) : Icon Khabar

भक्तपुर, मंसिर ११ । सकिनमा पुन्हि अर्थात सकिनमा पूर्णिमा नेवार समुदायले मनाउने विशेष पूर्णिमाहरु मध्य एक हो जुन नेपाल भाषाका दुई शब्दहरु सकि र मना मिलेर बनेको छ । सकि भन्नाले पिँडालु हो भने मना भन्नाले उसिन्नु हो ।

आजको दिन पिँडालु उसिनेर खाने भएकै कारण यसलाई सकिमना पूर्णिमा भनिएको हो । जाडो महिनामा तरकारीहरुको अभाव हुने भएको हुनाले कन्डमुल (जमिन मुनि पाइने खाना) पनि खान मिल्छ भने संदेशको प्रतीक हो सकिमना पूर्णिमा । भुगर्भिय हिसाबले आजको दिन चन्द्रमा पृथ्वीबाट नजिक रहने गर्दछ । तसर्थ आजको दिन चन्द्रमाको आकार अन्य दिनको पुर्णिमाका चन्द्र भन्दा ठूलो हुने गर्दछ ।

आज कै दिन विभिन्न मन्दिर एवं चैत्य बिहार अगडी मकै, गहुँ, भटमास, ताय, माल्पा, स्वारी, तथा अन्य अन्नको देवता, मन्दिर वा चैत्यको आकृति बनाइने गर्दछ जुन संस्कृतिलाई हरिमन्दि तथा नसा ब्वयेगु वा हलिमली पर्व भन्ने चलन छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका दाफा भजनले भजन गरिन्छ ।

संस्कृतिबिद ओम धौभडेलका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बीउ समेत पाइएन । खानको लागि यहाँ गहुँ, मकै, भटमास जस्ता अन्न मात्र बाँकी भयो । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बन्यो ।

पिँडालु खानु पर्नुको कारण एकपटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ । तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भयो । त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिली रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे ।

त्यसै क्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको सरह मानिन्छ ।

पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवङ्गत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कात्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख गरिएको छ ।

तर, त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख छ । सो जुधान पुन्हिको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन । सो दिन पिँडालु उसिनेर खाने चलन भएको कारण पछि गएर उक्त दिन सकिमना पुन्हिबाट प्रख्यात भएको हुन सक्ने संस्कृतिबिद धौभडेलले बताए।

नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजुभवानीलाई खीर चढाउने गरिन्छ । साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ ।

Published Date: 27 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु