गर्मीमा के खाने र के नखाने ?

गर्मीमा के खाने र के नखाने ? : Icon Khabar

काठमाडौँ, जेठ ३१ । अधिक गर्मीको असर शरीरमा कम गर्न हामीले पर्याप्त पानी वा पानी भएका खाद्य पदार्थ बढी खानु पर्छ। हाम्रो शरीर ६० देखि ७० प्रतिशत पानीले बनेको हुँदा शरीरमा पानीको भूमिका महत्वपूर्ण हुन्छ। पानीले पाचन प्रक्रियामा सहयोग गर्ने देखि शरीरबाट नचाहिने बिकार निस्काशन गर्न समेत मद्दत गर्छ।

पानीले शरीरको तापक्रम नियन्त्रण गर्ने र रगतमा अक्सिजन प्रवाह गर्ने काम पनि गर्दछ। गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुनुका साथै शरीरमा विभिन्न जैविक(रसायनिक प्रतिकृयाहरु संचालन गर्न आवश्यक पर्ने पोटासियम, सोडियम, म्याग्नेसिय, क्लोराइड जस्ता खनिज पदार्थहरु पसिना वा पिसाबका माध्यमबाट निस्काशन हुनाले शरीरमा यी तत्वहरुको मात्रा कमी हुन गई विभिन्न स्वास्थ जटिलताहरु देखा पर्न सक्छ।

त्यसैले, जलवियोजन हुन नदिन र ईलेक्ट्रोलाईटको सन्तुलन कायम राख्न मौसमी फलफूल तथा तरकारीहरु जस्तै खरबुजा, नरिवलको पानी, काँक्रा, तरबुजा, आँप, केरा, मेवा, भूँईकटहर , नास्पाति, लौका, फर्सी, कागती, हरियो सागपात आदि खानु पर्दछ।

प्रायजसो तरकारी र फलफूलमा पानीको साथ साथै खनिज पदार्थ र भिटामिनहरु पनि बाँधिएर बसेका हुनाले हामीलाई पानीसंगै अरु पौष्टिक तत्वको पनि भरणपोषण हुन्छ। साथै शरीरलाई जलवियोजनबाट बचाउन बजारमा पाइने चिसो पेय पदार्थ भन्दा दही, मोही, लस्सी, कागती पानी, उखुको रस खानु राम्रो हुन्छ।

यसका अतिरिक्त हामी बाहिर घाममा कडा परिश्रम गर्छौं वा खेलकुद गर्छौं भने साधारणतया भित्र बसेर काम गर्ने व्यक्तिको तुलनामा हामीले शरीरबाट धेरै पानी र ईलेक्ट्रोलाईट पसिनाका माध्यमबाट गुमाइरहेका हुन्छौं।

यस्तो अवस्थामा पानीका साथ साथै फलफूल तथा फलफूलको जुसमा थोरै नुनको प्रयोग गर्न सकिन्छ वा जीवनजल जस्ता विभिन्न ईलेक्ट्रोलाइट हालेर पानी पिउन सकिन्छ। कडा परिश्रम गर्ने खेलाडीले सादा पानी पिउनु भन्दा आवश्यक्ता अनुसार गुलकोज वा ईलेक्ट्रोलाइट युक्त ड्रिंक पिउनाले अझैँ फाइदा हुन्छ।

गर्मीमा कस्ता खानेकुरा नखाने

गर्मीयाममा धेरै नुनिलो, धेरै गुलियो, तेलमा तारेका र मसलेदार खानेकुरा खानुहुँदैन। यी सबैले शरीरमा जलवियोजनको स्थिति उत्पन्न गर्दछन्। यसका साथै कफी, चिया, चिसो पेय पदार्थहरुको सेवन पनि कम वा परहेज गर्दा राम्रो हुन्छ। बासी खाना, फोहोर तरिकाले बनाइएका वा बेच्ने राखिएका बजारु खाना सकेसम्म खानुहुँदैन। शरीरको आवश्यकता भन्दा बढी पनि खानुहुँदैन। यसले गर्दा खाना पच्न समय लाग्ने हुनाले शरीर आलस्य वा निस्क्रिय हुन्छ।

गर्मीयाममा नुनिलो, पीरो वा चट्पटा खानेकुरा खाने धेरैको बानी हुन्छ। गर्मीमा जलवियोजन वा विविध कारणले अधिकांश व्यक्तिको प्रेसर लो भइरहेको देखिन्छ। आम बुझाईमा प्रेसर लो हुँदा नुनिलो, चखिलो वा जीवनजल खानुपर्छ भन्ने धारणा छ तर यो अभ्यास यस समस्याको दिर्घकालीन समाधान भने होइन।

गर्मीमा शरीरमा पानी कम भएर जलवियोजनको खतरा हुन्छ भन्ने बुझेर हामीले पर्याप्त पानी र स्वस्थकर खानपानमा शुरुबाटै ध्यान दिएमा जलवियोजनकै कारण प्रेसर लो भई शरीरमा यसको नकारात्मक असर पर्दैन। आफ्नो आहार बिहार र जलयोजनमा ध्यान नदिई नुनिलो वा चर्को खानेकुरामा मात्रै जोड दिदाँ, त्यसले तत्कालिन अवस्थामा शरीरमा आंशिक फाइदा गरेता पनि दीर्घकालिन रुपमा नकारात्मक असर पार्न सक्छ।

Published Date: 13 June 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग