शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु

शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु : Icon Khabar

पोखरा, जेठ १ । पोखरामा शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषद्का सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद् तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा अघि बढेको बताए ।

युवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषद्ले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले परिषद् खेलकुद विकासका लागि सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै परिषद्का निवर्तमान सदस्य–सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले परिषद्ले अघि सारेको अभियान महत्वपूर्ण रहेको जनाउँदै कार्यक्रमले जिल्लाहरुमा युवा ह्याण्डबल खेलाडी उत्पादनका लागि सहयोगी हुने बताए । उनले अबको प्रशिक्षण प्रविधिमैत्री बनाउन समेत जोड दिए ।

पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहेको प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । सहभागिहरुलाई प्रशिक्षकहरु रामबहादुर क्षेत्री, चित्रबहादुर थापा, विशाल बस्नेतलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रदेश खेलकुदका सदस्यहरु निर्मला बराल, विष्णुमाया गुरुङ, प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्य, कोषाध्यक्ष दिना गोतामेलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2024
Website | + posts