सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक बस्दै

सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, चैत १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) कैलालीको टीकापुरमा बस्दैछ । बैठकले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिने जनाइएको छ । बैठकका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी टीकापुर पुगिसकेकी छिन् । उनले बैठकका एजेण्डा बारेमा छलफल भइरहेको बताएकी छन् । उनका अनुसार अहिले नै एजेण्डा तयार भइसकेको छैन ।

अध्यक्ष श्रेष्ठ चौधरी सरकारलाई समर्थन गर्ने सम्बन्धमा केन्द्र र प्रदेशको एउटै धारणा हुनुपर्नेमा अडिग रहेको स्रोत बताउँछ । सो पार्टीले केन्द्रमा वर्तमान सरकारलाई समर्थन दिएको छ भने सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन यथावत राखेको छ । पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशमा पाँच जना मन्त्री समेत बनिसकेका छन् । तीमध्ये एक जना राज्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेशमा पार्टीका तर्फबाट सात जना सदस्य छन् । उनीहरुमध्ये पाँच जना काँग्रेस नेतृत्वको पक्षमा छन् भने दुई जनाले फरक मत राखेका छन् । कांग्रेस नेतृत्वको पक्षमा हुनेलाई पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीको साथ छ भने दुई जनालाई अध्यक्ष श्रेष्ठ चौधरीले साथ दिएकी छन् । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ चौधरी दम्पती हुन् ।

पछिल्लो पटक टीकापुरमा सम्पन्न पार्टीको महाअधिवेशनपछि दुवै जनाबीच चरम असमझदारी देखिएको छ । महाअधिवेशनले चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । आम माफी पाएको भन्दै निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष पदमा अयोग्य ठहर गर्दै श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम गरिदिएको थियो । उनी पार्टीको संस्थापक अध्यक्ष हुन् ।

महाअधिवेशनपछि दुई जनाबीचको दूरी झन फराकिलो बनेको छ । संरक्षक रहेका चौधरी अहिले जापान भ्रमणमा छन् । उनी आज हुने बैठकलाई विफल बनाउन चाहन्छन् । उनको निर्देशनमा केही व्यक्तिहरू बैठक विफल बनाउन सक्रिय रहेको स्रोत बताउँछ । २१ सदस्यीय पार्टी पदाधिकारीमा अध्यक्ष श्रेष्ठ चौधरीको बहुमत छ ।

अधिकांशले केन्द्रमा एउटालाई र प्रदेशमा अर्कोलाई समर्थन गर्नु राजनीतिक रुपमा दोहोरो चरित्र हुने भन्दै त्यसो नगर्न दबाब दिईरहेका छन् । उनीहरुले दोहोरो चरित्रले पार्टी लुम्बिनी र मधेस प्रदेशमा समेत प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने सुझाव दिइरहेको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । नाउपाका सातसहित प्रदेशमा कांग्रेसका १८, एमालेका १०, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

Published Date: 27 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु