नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित : Icon Khabar

काठमाडौँ, फागुन ५ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर आउट भएका थिए ।

आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित नटआउट ५४ रन जोडे । अनिल ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा नटआउट रहे । यी दुईले दोस्रो विकेटका लागि नटआउट १ सय ५ रनको साझेदारी पनि बुने ।

दोस्रो ओभरमै कुशलले आर्यन दत्तलाई २ छक्का र एक चौका प्रहार गर्दै आक्रामक सुरुवात दिलाए । तेस्रो ओभरमा किंगमाविरुद्ध पनि भुर्तेलले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि पाँचौ बलमा ठूलो सट खेल्ने प्रयासमा कुशल क्याच आउट भए । उनले ११ बलमा २८ रन जोडे ।

आसिफ शेख १९ रनमा रहँदा जीवनदान पाए । किंगमाको बलमा क्रोसले सर्ट फाइन लेगमा क्याच ड्रप गरेका थिए । त्यसपछि अनिल र आसिफले लगातार आक्रामक इनिङ खेल्दै जितसम्म डोर्याए ।

त्यसअघि नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।

छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।

त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा पुग्यो ।

२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९-६ को अवस्थामा पुग्यो ।

लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।

नेपालले आज दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

नेदरल्यान्ड्स टोली :म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 February 2024
Website | + posts