भारत र चिनियाँ नाका जोड्ने नयाँ पदमार्ग निर्माण

भारत र चिनियाँ नाका जोड्ने नयाँ पदमार्ग निर्माण : Icon Khabar

काठमाडौं, माघ १६ । नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो । एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एक्सपिडीसनका अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भू–भागबाट पहाडी भू–भाग हुँदै हिमाली भ–ूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिए । ‘हामीले पदमार्ग भन्ने बित्तिकै हिमाली क्षेत्रमात्र भन्ने बुझ्छौँ, तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदमार्गको अध्ययन गरेका हौं’, उनले भने ।

कपिलवस्तुको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाका पर्दछ ।

समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ । नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टर समेत थिए । पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए । उक्त पदमार्ग चार सय ४० किलोमिटरको भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिंखडाले बताए ।

नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ छ । धादिङमा जन्मेर काठमाडौँमा आएर विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिंखडाले ‘योगा टुरिजम’ लाई समेत अगाडि बढाएका छन् । अध्यक्ष सिंखडाद्वारा पर्यटनसम्बन्धी ‘हिँडे पुगिन्छ’ पुस्तक समेत प्रकाशित छ ।
Published Date: 30 January 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी