तराईमा अत्यधिक चिसो बढ्यो, इटहरी र विराटनगरमा तीन दिन विदा

तराईमा अत्यधिक चिसो बढ्यो, इटहरी र विराटनगरमा तीन दिन विदा : Icon Khabar

इटहरी, माघ २ । बढ्दो चिसोसंगै प्रारम्भ भएको शितलहरले तराईको जनजीवन अस्तव्यस्त बन्दै गैरहेको छ । यसैबीच, इटहरी उपमहानगरपालिकाले आफ्नो पालिका भित्रका सबै सामुदायिक, धार्मिक तथा बालविकास केन्द्रहरुमा तीन दिन विदा दिने घोषणा गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत द्रोणप्रसाद दाहालद्वारा मंगलवार जारी गरिएको विदा सम्बन्धि सूचनामा भनिएको छ– ‘अत्यधिक चिसो तथा शीतलहरका कारण कारण दैनिक रुपमा पठनपाठनमा प्रभाव परेको हुँदा सञ्चित (मिन पचास) वर्षे विदाबाट कट्टा हुने गरी माघ ३ गतेदेखि ५ गतेसम्म (तीन दिन मात्र) यस उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, धार्मिक, बालविकास केन्द्रहरु विदा गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’

यसैगरी, शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले पनि महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । मंगलबार सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।

चिसो अत्यधिक बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । दिनभर हुस्सु लाग्ने गरेको छ ।

‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन माघ ३ गतेदेखि ५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,’ महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने महानगरले जनाएको छ । बुधबारदेखि शहीद रंगशालामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2024
Website | + posts