तातोपानी कुण्डमा पूर्वाधार निर्माण

तातोपानी कुण्डमा पूर्वाधार निर्माण : Icon Khabar

म्याग्दी, पुस ९ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको जानकारी दिए । ‘जस्तापाटाको छाना भएको टहरामा पाहुनालाई कपडा फेर्न असजिलो भएको थियो’, उनले भने, ‘कपडा झुण्डाउने, बेञ्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।’

कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्यकरण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ ।

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९/८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप रू तीन लाख लागत साझेदारी गरेको उनले जानकारी दिए । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिकरुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरु आउने गर्छन् ।

Published Date: 25 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?