भक्तपुर नगरपालिका ७५ वर्षमा प्रवेश, नगरपालिकाको सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका ७५ वर्षमा प्रवेश, नगरपालिकाको सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २० । भक्तपुर नगरपालिका स्थापना भएको २०८० पुस २ गते ७५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७४ औं स्थापना दिवसको अवसरमा आज नगरपालिकाको सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेँले जनप्रतिनिधि र कर्मचारीहरु आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने बताउँदै कर्मचारीहरु राजनीतिक रुपमा सचेत र संगठित हुन जरुरी रहेको बताए।

प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निराशा छाएको बताउँदै उनले प्रदेशका मुख्यमन्त्रीहरु जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूल्ठूला भवनहरु निर्माणमा आफ्नो समय खर्चिरहेको बताए।

शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँ नयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’को रुपमा विकास गर्न सके देशलाई नै फाइदा पुग्ने बताउँदै उनले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताए।

सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको बताउँदै उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन गर्न खोजेमा संघीयता असफल हुने खतरा निम्तिने बताए।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे प्रष्ट पार्दै निर्वाचन घोषणापत्रमार्फत जनतालााई दिएका बचनहरु एक एक गरी पूरा गर्न भक्तपुर नपाका जनप्रतिनिधिहरु कटिबद्ध भएर अगाडि बढिरहेको बताए।

संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको चर्चा गर्दै उनले भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै जनताको पनि निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याए।

राजनीतिलाई जनताको सेवा गर्ने नीतिअनुरुप भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरु परिचालित रहेको बताउँदै प्रमुख प्रजापतिले निर्वाचनमा भाग लिई जनताको सेवा गर्ने नीतिअनुसार पञ्चायती व्यवस्थामा पनि अविचलित रुपमा जनतालाई राजनीतिक रुपले सचेत पार्ने अभियानमा नपा क्रियाशील रहेको प्रष्ट पारे।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका देशभरिका स्थानीय सरकारको लागि अनुकरणीय नगरपालिकाको रुपमा रहेको बताईन्। उनले देशकै परिपक्व नगरपालिकाको रुपमा रहेको भक्तपुर नपाको गौरवपूर्ण इतिहासलाई कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरीन्।

उनले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र साँस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको पनि सोही क्रममा बताईन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुशासन, कार्यशैली, कर्मचारी अनुशासन आदिमा भक्तपुर नपा अब्बल रुपमा प्रस्तुत भइरहेको बताए।

भक्तपुरलाई सफा र सुन्दर बनाउन यहाँका सफाइ कर्मचारीहरुको ठूलो भूमिका रहेको बताउँदै उनले भक्तपुर नपाले विदेशी सहयोगविना आफ्नै बलबुत्तामा भक्तपुरको विकास गर्नु नै यहाँको मुख्य विशेषता भएको बताए।

सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले सकिमना पुन्हीको दिन हलिमली ब्वज्या (नसा ब्वज्या) सम्बन्धी फोटो प्रतियोगिता र लघु वृत्तचित्र प्रतियोगिताका विजयीहरु नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए।

भक्तपुर नपाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा हलिमलि ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम, जयराम प्रजापति द्वितीय, किपा किजु डिजिटल फोटो तृतीय, उज्वल चन्द्र बुद्धाचार्र्यले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु. २० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, तृतीय स्थान हासिल गर्नेलाई १० हजार र सान्त्वनालाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 December 2023
Website | + posts