आज बाला चतुदर्शी : शतबीज छर्ने पर्वको महत्व

आज बाला चतुदर्शी : शतबीज छर्ने पर्वको महत्व : Icon Khabar

काठमाडौं, मंसिर २५ । आज मार्ग कृष्ण चतुर्दशी अर्थात् बालाचतुदर्शी शतबीज छर्ने पर्व हो । आजको दिन यो पर्व मनाईंदैछ । शतबीज छर्ने पर्वको अवसरमा पशुपति क्षेत्रमा देशैभरीका हजारौंं मानिसहरु भेला भएका छन् । बिस्तारै यो पर्वले हामी नेपालको राष्ट्रिय पर्वको स्वरुप ग्रहण गर्दै गएको छ ।

आजको दिन आफ्नो परिवारको कुनै सदस्यको मृत्यु भएको वर्ष र दोश्रो वर्ष मृत–आत्मालाई तारी मोक्ष र शान्ति दिलाउन त्रयोदशीका दिन रातभर महाबत्ती बालेर भजन–कीर्तन गर्दै जाग्राम बसी चतुर्दशीमा सतबीज छर्ने धार्मिक परम्परा छ । मृत्यु भएको वर्ष छरिने शतबीजलाई उल्टो शतबीज छर्ने र दोश्रो वर्ष वार्षिकी पछि ‘चतुर्दशी यज्ञ’ समेत गरेर छरिने शतबीजलाई सुल्टो शतबीज छर्ने भनिन्छ ।

मृतक परिवारबाट लगातार दुई वर्षसम्म यी दुवै सतबीज छर्न पशुपतिनाथ अथवा महादेवको मन्दिर जानु पर्ने धार्मिक मान्यता छ । बाला चतुदर्शीको मध्यरातमा अन्तिम शतबीज छरिन्छ जसलाई कएन्या भनिन्छ ।

वास्तवमा, भगवान महादेवप्रति आस्था, श्रद्धा र भक्ति राखी पितृमोक्षको कामना गर्दै हरेक व्यक्तिले विभिन्न शिवालयहरुमा गएर शतबीज छर्न सक्दछन् ।

आजको दिन काठमाडौंको पशुपतिनाथसहित कोटेश्वर महादेवस्थान, काठमाडौंकै गोकर्णेश्वर, खोटाङको हलेसी महादेव, झापाको अर्जुनधारा जलेश्वरधाम, सुनसरीको चतराधाम आदि विभिन्न मन्दिरहरमा शतबीज छर्ने कार्य जारी छ ।

शतबीजमा मकै, धान, मुगी, कपासको विज, मास, कागुन र चना जस्ता सात थरीका बीज हुनु पर्दछ । साथै तिल, जौ लगायत विभिन्न प्रकारका मौसमी फल जस्तै उखु, सुन्तला, बदाम आदि तथा फूलहरु पनि समावेश गरिन्छ ।

शतबीजले सप्तधान्य कागुन, तिल, जौ, धान, मकै, गहुँ, चनाको समूहलाई पनि जनाउँछ । शतबीज छर्ने क्रममा वागमतीमा स्नान गरी शुद्ध भएर बागमती किनारमा रहेकी वत्सलादेवीको दर्शन गरी सँगै रहेको पञ्चगणेशबाट छर्न प्रारम्भ गर्नु पर्ने नियम छ ।

यसरी वत्सलेश्वरी मन्दिर वरिपरि रहेका अनन्तनारायण, यमराज, बटुक भैरव, जयमङ्गला हुँदै त्यहाँबाट नजिकै दक्षिणतर्फ रहेको राजराजेश्वरी पुगी छर्दै फर्किएर पशुपतिनाथ मन्दिरमा छरिन्छ ।

त्यहाँबाट कैलाश डाँडाहुँदै गौरीघाटबाट मृगस्थली र श्लेषमान्तक वनमा रहेका किराँतेश्वर, गुह्येश्वरी, विश्वरुपामा छरेर मृगस्थलीमै रहेको बहिरा गणेशमा आएर गणेशलाई आफू आएको जानकारी उच्च स्वरमा दिनु पर्ने धार्मिक मान्यता छ ।

आ–आफ्ना परिवारका मृतजनहरुलाई दिने सन्देश यिनै गणेश सामु चिच्याई– चिच्याई सुनाने परम्परा छ । त्यसपछि त्यहाँबाट छर्दै दक्षिणतर्फ सँगै रहेको नमोबुद्ध पुगेर सोही बाटोहुँदै फर्किएर मृगस्थलीमा रहेको भागलभुगल शिवलिङ्गमा पुगेर बाँकी शतबीज सबै छरेर शतबीज छर्ने कार्यलाई सम्पन्न गरिन्छ ।

आजको दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा–अर्चना गरिन्छ । आजको दिन पशुपतिनाथ छत्र गुठीको तर्फबाट गुह्येश्वरीमा बलिसहितको विशेष पूजासमेृत गर्ने परम्परात छ । बालागुठी अन्तर्गत गुह्येश्वरीमा वैद्यहरूले राँगो तथा बोकाको बलि दिई पूजा गर्ने परम्परा पनि छ ।

मृगस्थलीस्थित गोरखनाथ मठका कनफट्टा जोगीहरुले ती पूजा सामग्रीहरु र बलि लैजान्छन् तर जोगीहरु बली कर्ममा सहभागि हुँदैनने । आजको दिन गोरखनाथको पाउको प्रतिमूर्ति सर्वसाधारणको दर्शन–पूजाका लागि मन्दिर बाहिर राखिन्छ ।

गोरखनाथको विषेश पूजा गरी रोटी विषेश चढाएर बोका बली पनि दिईन्छ । पशुपति क्षेत्रमा बसोवास गर्ने वैद्यहरुले राखेको बालाचतुर्दशी चक्रपूजा गुठीबाट गुह्येश्वरी, भैरव र गोरखनाथको चक्रपूजा गरिन्छ ।

आजकै दिन साँझ च्यासलटोल, ललितपुरका व्यञ्जनकारहरू गुह्येश्वरीमा आएर गुह्येश्वरीको पूजा गरी काँ बाजा बजाउँदै शतबिज छर्ने मार्गको परिक्रमा गर्ने परम्परा पनि छ । यो बाजा बज्नुलाई शद्बीज छर्न बन्द गर्नुपर्ने संकेतको रुपमा लिईन्छ ।

बाला चतुर्दशीको अघिल्लो दिन त्रयोदशीमा पशुपतिनाथको ढुकुटीबाट नागमणि, एकमुखे रुद्राक्ष, पशुपतिनाथलाई लगाउने वहुमूल्य धातुहरु जडित चाँदीको इन्द्र–कवच पोशाक लगायतका मूल्यवान बस्तुहरू निकालिन्छ र सर्वसाधारणको दर्शनको लागि पशुपतिनाथ मन्दिर प्राङ्गणमा राखिन्छ ।

यही दिन पशुपतिनाथलाई इन्द्र–कवच लगायत बहुमूल्य गरगहनाहरु पहिर्याइन्छ ।

बाला चतुर्दशीको दिन शतबीज छर्नेहरुको ठूलो घूईँचो हुने भएकाले यी दुर्लभ वस्तुहरु बाला चतुर्दशीको अघिल्लो दिन र बाला चतुर्दशीको भोलिपल्ट औंशीको दिनमा प्रदर्शन गरिन्छ । यी बस्तुहरु औंशीका दिन पुनः ढुकुटीमा राखेपछि विशेट नाइकेले त्यही साँझ पशुपतिनाथका मूल भण्डारी, पालो वाला भण्डारी लगायतलाई भोज खुवाउनु पर्ने परम्परा छ ।

बाला चतुर्दशीकै दिन वर्ष दिन भरी जम्मा भएका सुन, चाँदी, हीरा, मोती जस्ता बहुमूल्य धातुहरु र जम्मा भएको नगदबाट पनि सुन नै किनेर पशुपतिनाथको मूल ढुकुटीमा राख्ने परम्परा पनि थियो

बाला चर्तुदशीको दिनदेखि चैत्र कृष्ण चर्तुदशीसम्म पशुपतिनाथलाई नित्य स्नान गराउँदा चीसो नहोस् भनी चार महिना तातो पानीले स्नान गराईने परम्परा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 December 2023
Website | + posts