यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रबार दिउँसो उनीसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहा गराउने प्रयासकै क्रममा टेलिफोन संवाद गरेको उनको सचिवालयले जनाएको छ ।
संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन, उनको सरक्षाको प्रत्याभूति गर्न र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमै जोशीलाई प्राथमिकतामा पार्न आग्रह गरेका थिए । परराष्ट्रमन्त्री साउदले इजरायलसँग नेपालको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताए ।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ छ । केही दिनअघि हमास र इजरायलबीच सातदिने युद्धविराम भएको थियो । त्यस क्रममा हमासले केही बन्धक रिहा गरेको थियो । तर त्यसमा विपिन परेनन् । युद्धविराम सकिएपछि अहिले फेरि लडाइँ भइरहेको छ ।