सुनौलो बिहानी सङ्गै खुलेको भक्तपुर दरबार क्षेत्र

सुनौलो बिहानी सङ्गै खुलेको भक्तपुर दरबार क्षेत्र : Icon Khabar

भक्तपुर, असोज ३० । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ ।

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो । भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो ।

समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ ।

भक्तपुर दरबार स्क्वायरमा मुख्य आकर्षणहरू पचपन्न झ्याले दरबार, वत्सला देवी मन्दिर, गोल्डेन गेट, मिनी पशुपति मन्दिर, पाँच तल्ले मन्दिर र भैरवनाथ मन्दिरलगायत हुन् ।

पचपन्न झ्याले दरबारको निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल संवत् ८२८ (विक्रम संवत् १७६५) मा भएको थियो ।

यसै क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा वत्सला देवी मन्दिर ढुङ्गाको उत्कृष्ट कलाकृति नमुना हो । वत्सला मन्दिरलाई अन्नपूर्ण पनि भनिन्छ । ठुलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सला देवी रहेकी छिन् ।

भक्तपुर दरबार स्क्वायर नेपालमा रहेका १० वटा विश्व सम्पदाहरू मध्ये एक हो । यस दरबारले नेपाली मौलिक सांस्कृतिक र ऐतिहासिक महत्त्व बोक्नुका साथै प्राचीन कला संस्कृति, वास्तुकला र पुरातत्त्व झल्काउँदछ । भक्तपुर दरबार स्क्वायर काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै भ्रमण गरिने दरबार स्क्वायर हो ।

भक्तपुर दरबार स्क्वायरको स्थापना मल्लकालीन राजा भुपतिन्द्र मल्लले १७ औँ शताब्दीमा गरेका थिए । भक्तपुर दरबार स्क्वायरलाई मध्ययुगीन कला र वास्तुकलाको सङ्ग्रहालयको रूपमा पनि चिनिन्छ ।

प्राचीन मूर्तिकला, मठ मन्दिर र हस्तकलाको नमुना भक्तपुर दरबार स्क्वायर काठमाण्डौँकै सबैभन्दा आकर्षक वास्तु शैली भएको उत्कृष्ट धरोहर हो ।

यो दरबार स्क्वायर प्यागोडा र शिखर शैलीका मन्दिरहरूको कलात्मक सङ्ग्रह हो ।

प्राचीन कला, संस्कृति र मूर्तिकला मात्र भक्तपुर दरबार स्क्वायरको आकर्षण नभई यहाँ स्थित नेवारी कला संस्कृति, रीतिरिवाज र चाडपर्वहरू पनि यहाँको मुख्य आकर्षण हुन् ।

भिन्न पहिचान बोकेको भक्तपुर क्षेत्रको मौलिक परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउँछ । यहाँको कला संस्कृति, मूर्तिकला, पुरातत्त्व, हस्तकला र सांस्कृतिक विविधता हेर्न र अवलोकन गर्न हजारौँ पर्यटकहरू देश विदेशबाट आउने गर्छन् । नगरपालिकाले यस दरबार स्क्वायरबाट लाखौँ आम्दानी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts