सुनौलो छानाले सजिएको पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहार अर्थात ‘गोल्डेन टेम्पल’ (फोटो फिचर)

सुनौलो छानाले सजिएको पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहार अर्थात ‘गोल्डेन टेम्पल’ (फोटो फिचर) : Icon Khabar
तस्बिर: किरण सुवाल

पाटन, असोज २४ । ललितपुर जिल्ला पाटनको प्रसिद्ध मन्दिर हो, कृष्ण मन्दिर । यो मन्दिरको पछाडिबाट सानो गल्लीबाट बंगलामुखीतिर जाँदा बाटोमै पर्छ, हिरण्यवर्ण महाविहार । पाटन क्षेत्रमा भएका १८ महाविहारमध्ये एक विहार हो, हिरण्यवर्ण ।

तस्बिर: किरण सुवाल

तर, यी सबै १८ विहारभन्दा यो अलिक फरक छ, यसको पुजारीका कारण वा यहाँको पद्धतिका कारण । बाटोमै चाहिँ यो महाविहारको ढोका पनि साँघुरो छ । तर, भित्र यसको फैलावट निकै ठूलो छ ।

किराँतकालमा बनेको यो महाविहारको उल्लेख्य विशेषता के भने यसमा अहिले पनि त्यति बेलाको संस्कार र संस्कृति केही पनि हेरफेर नगरि जीवितै राखिएको छ । यही महाविहारमा छ, एउटा सुनौलो छाना भएको मन्दिर । सुनौलो छाना भएकाले नै यसलाई आजभोलि ‘गोल्डेन टेम्पल’ भनेर चिनिन थालेको छ ।

बौद्ध धर्मालम्बीको विशेष विहार यहाँ भगवान बुद्धको मात्र होइन, मुसाको पनि पूजा गरिन्छ । र, यी सबै पूजा गर्नका लागि यहाँ स्थानीय रुपमा नै पुजारी राखिन्छ । ती पुजारीलाई भनिन्छ– वाफाचा ।

शाक्य र बज्राचार्य समुदायबाट वाफाचाहरु छानिन्छन्, त्यसैले यो महाविहारको सदस्य भएका सबै परिवारका पुरुष सदस्यहरु एकपटक वाफाचा बन्नै पर्छ । तर, वाफाचा बन्नका लागि सबैभन्दा पहिलो र अनिवार्य नियम हो– १२ वर्ष कटेको हुनुहुँदैन ।

हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको छ।

शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरिन्छ । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् ।

सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।

स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts