नेपाल भारतसँग २३ रनले पराजित

नेपाल भारतसँग २३ रनले पराजित : Icon Khabar

हान्झाउ, असोज १६ । नेपालले एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो ।

१७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट समातिन पुगे । उनले ५ बलमा १ छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको १८ औं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमान्चक बनाएका थिए ।

नेपालले ११ औं ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए ।

कुशलले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा रोहित पौडेल ३ रनमा एलबीडब्लू आउट भएका थिए ।

कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । डेब्यू खेलेका स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आवेश खानबाट क्याच आउट भएका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१४ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा दीपेन्द्रले शिवम दुबेलाई लगातार तीन छक्का हानेका थिए । तर अर्को ओभरमा उनी रवि विश्रोईको बलमा साई किशोरबाट क्याच आउट भए । सन्दीप जोराले १६ औं ओभरमा अर्शदीप सिंहलाई दुई उत्कृष्ट छक्का हानेका थिए । तर चौथो बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा यशस्वी जैसवालबाट क्याच आउट भए ।

करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे ।

पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । पहिलो विकेटको साझेदारी नेपाललाई भारी पर्यो ।

गायकवाडले २३ बलमा ४ चौकासहित २५ रन बनाए । तिलक बर्मालाई १० बलमा २ रनमा आउट भए । उनी सोमपालको बलमा बोल्ड आउट भए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts