‘जासुसमाथि नै प्रतिजासुसी गरेपछि भारतको संलग्नता खुल्यो’

‘जासुसमाथि नै प्रतिजासुसी गरेपछि भारतको संलग्नता खुल्यो’ : Icon Khabar

टोरन्टो, असोज ५ । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् । भारतको बाह्य खुफिया संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एसाेसिएटेड प्रेसलाई बताएका छन् ।

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र खुफिया एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न साझेदार खुफिया समूह ‘फाइभ आइज्’ले उपलव्ध गराएको नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारेमा भने केही उल्लेख गरेनन् ।

हत्यामा भारतीय कूटनीतिज्ञ एवम् जासुसको संलग्नता रहेको समाचार सबैभन्दा पहिले क्यानडाको प्रसारण संस्था क्यानडा ब्रोडकास्टिङ कर्पोरेशनले सार्वजनिक गरेको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिने निर्णय गरेपछि हत्यामा भारतको हात रहेको गुप्तचर निकायबाट प्राप्त विवरण बाहिर आएको हो । भारतले नयाँदिल्लीमा रहेका क्यानडाली कूटनीतिक कर्मचारीको सङ्ख्या घटाउन भनेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । पेशाले प्लम्बर उनलाई क्यानडाले सन् २००७ मा नागरिकता दिएको थियो ।

क्यानाडाको संसदमा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताए ।

क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई बिहीबार सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्रीले ओटावा र नयाँदिल्लीबीच कूटनीतिक सम्बन्ध जटिल मोडमा पुगेको स्वीकार गरे । उनले भारतसँग सम्बन्ध बिगार्न आफूले नचाहेको तर विधिको शासनको पालना तथा आफ्ना नागरिकको रक्षा आफ्नो पहिलो कर्तव्य भएको बताए ।

यसअघि क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गरिएकोे जानकारी दिँदै निजलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिएपछि उसको पर्यटन क्षेत्रमा असर पर्ने दुवै देशका पर्यटन व्यवसायीले बताएका छन् । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष दुई लाख ७७ हजार क्यानडाका पर्यटकले भारत भ्रमण गरेका थिए । रासस/एपी

Published Date: 22 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न