मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर महादेव (फोटो फिचर)

मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर महादेव   (फोटो फिचर) : Icon Khabar
फोटो : अल्बर्ट बज्राचार्य

मकवानपुर, भदौ २ । मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर क्षेत्र धार्मिक सहिष्णुताको उदाहरण बनेको छ । हिन्दु र बुद्ध धर्मावलम्बीहरूले आ–आफ्नो आस्था अनुसार यहाँ पूजा गर्छन् । भाकल भाक्छन् र पुरा भएको भन्दै धन्यवाद दिन आउँछन् ।

हिन्दु धर्मावलम्बीले यसलाई ऋषेश्वर महादेव र बौद्धमार्गीले पद्यसम्भव (छिमि झ्याङछुप) का रूपमा यहाँ पूजा गर्दै आएका छन् ।

फोटो : अल्बर्ट बज्राचार्य

काठमाडौँबाट ८० किलोमिटर दुरीमा पर्ने दामन मकवानपुरको उत्तरी क्षेत्रमा पर्छ । त्रिभुवन राजपथमा पर्ने उक्त मन्दिर सडकबाट एक किलोमिटरको दुरीमा छ । पैदल यात्रुलाई सडकबाट ३० मिनेट लाग्छ ।सडकखण्डबाट जङ्गलको बिच बाटो हुँदै मन्दिर पुग्न सकिन्छ । पैदल यात्राका लागि बाटोमा सिँढी बनाइएको छ । पैदलयात्रीलाई बाटोको चिसो पानीले थप ऊर्जा दिन्छ ।

लुम्बिनी विश्वविद्यालयका बुद्धिजम तथा पिस स्टडिजका उपप्राध्यापक पुष्पबहादुर गुरुङका अनुसार सातौँ शताब्दीमा पद्यसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ ।

फोटो : अल्बर्ट बज्राचार्य

‘हिन्दु र बौद्धमार्गीबीचमा धार्मिक सहिस्णुता रहेका कारण नै दुवै धर्मावलम्बीहरूको संयुक्त मन्दिर रहेको हो’ उनी भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिस्टहरुले बढी मान्ने गरेका छन् । यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिन सकिन्छ ।’

यसलाई बुद्धिष्ट लामाहरूले छिमि झ्याङछुप गुफा भनेर चिन्दछन् । गुफाको बारेमा पुराना कृति तथा आधिकारिक दस्ताबेजहरू नभेटिए पनि लामाहरू टाढा टाढाबाट आएर लोसुम धोसुम (तीन वर्ष तीन महिना)को तपस्यामा बस्ने गर्छन् । लामाहरू तीन वर्ष तीन महिनासम्म पनि यहाँ तपस्या गर्छन् ।

फोटो : अल्बर्ट बज्राचार्य

‘गुफामा पद्यसम्भवको आकृति छ । पद्यसम्भव गुरु आएर यहाँ ध्यान गर्न बस्नु भएको थियो रे’ लामा गुरु निमा लामा भन्छन्, ‘उहाँ बसेको स्थानमा उहाँकै आकृति बनेको छ । यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’

पद्मसंभवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । त्यही पानी अझैसम्म प्रयोगमा रहेको स्थानीय किंवदन्ती छ । त्यही पानीमा नुहाएर चित्त शुद्ध गरेपछि मनले मागेको पुरा हुने तिर्थयात्री बताउँछन् ।

‘हाम्रो छोरी मात्रै थियो । छोराको लागि यहाँ आएर भाकल गरेका थियौ, भाकल पूरा भयो’ छोरा र छोरीसँगै मन्दिरमा हेटौडाबाट आएका एक तिर्थयात्री भन्छन्, ‘भाकल पूरा भयो । भाकल पूरा भएकोले बच्चा देखाउन यहाँ आएका हौँ ।’

यसरी कतिपय आफ्नो मनोकांक्ष पुरा हुने आशामा त कतिपय भाकल पुरा भएको भन्दै धन्यवाद दिन आउनेहरू यहाँ भेटिन्छन् । यो क्षेत्रले धार्मिक सहिष्णुताको उदाहरण मात्र दिएको छैन, तिर्थालुको मनोकांक्ष पनि पुरा गरिरहेको छ ।

फोटो : अल्बर्ट बज्राचार्य

पुग्ने कसरी ?
काठमाडौँबाट ८० किलोमिटरको दुरीमा रहेको दामनको ऋषीश्वर क्षेत्रमा गाडीबाट झरेर आधा घण्टाको पैदल यात्रामा पुगिन्छ । बाटो जंगलबीचमा भए पनि साना खोला, झर्ना हुँदै जाने भएकोले बाटो शीतल छ । मोटर बाटोबाट एक किलोमिटरको दुरीमा छ ।

फोटो : अल्बर्ट बज्राचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2023
Website | + posts