भारतीय सिमानाकाे मटिहानीमा सबैभन्दा अग्लाे राष्ट्रिय झण्डा

भारतीय सिमानाकाे मटिहानीमा सबैभन्दा अग्लाे राष्ट्रिय झण्डा : Icon Khabar

महोत्तरी, साउन १८ । भारतको मधुवनी जिल्लासँगै जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहराएकाे छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतीयहरुले देख्न सक्छन्।

सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको बेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै ठूलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ।

मधेशका सिमानामा रोटिबेटीको समबन्धसँगै राष्ट्रियताका सवालमा स्थानीय इमानदार नभएको संगिन आरोपकाबीच मटिहानीस्थित अग्लो पोलबाट फरफराएको झण्डाले भारतीयको हेपाहालाई झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाई लिएर गिज्याउनेहरुलाई समेत लज्जित बनाइदिएको छ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त? भन्ने बिषयले चर्चा पाइरहेको बेला उद्घाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनि सँगै दिइरहेको छ। `यो झण्डाले कति महत्त्व बाेकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन्,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने।

 उपराष्ट्रपति यादवले पनि झण्डाको उद्घाटन गर्दै खुसी ब्यक्त गरेका छन्। `नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव बढाएको छ,´ उनले भनेका छन्।

ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ। सताब्दीऔ पुरानो गुरुकुल होस् या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएकाे छ।

यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाई ल्याएका छन्।

देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन् देशकै गौरव बाेकेको मटिहानीप्रती संघीय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन्।

मटिहानीलाइ सहभागी बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेपनि प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ।

`त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,´ स्थानीय रामसेवक मण्डलले भने। उनका अनुसार नेपाल-भारतको समबन्धलाई बलियो बनाउनेदेखि सताब्दीऔं पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पत्ति भएको केन्द्रीय नेताहरु आएर भाषण गरेपनि व्यवहारिक रुपमा भने कार्यान्वयन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts