भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन : Icon Khabar

काठमाडौँ, साउन ८ । पाकिस्तान ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए माथि १ सय २८ रनको सानदार जितका साथ उपाधि जितेको छ । पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर अर्शद इकबालको सर्ट बलमा सुदर्शन एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भएपछि भारतले लगातार विकेट गुमाएको थियो । मोहम्मद वासिमको बलमा निकिन जोस ११ रनमा एलबीडब्लू आउट भए ।

पाकिस्तानका स्पिनरले भारतको मध्यक्रम धरासयी बनाउँदै उपाधि यात्रा सहज बनाएका थिए । स्पिनर सुफियान मुकीकको बलमा अभिषेक शर्मा तयाब ताहिरबाट क्याच आउट भए ।

कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुब जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।

पाकिस्तानको जितमा सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले ड्रिम सुरुवात दिलाएका थिए । ओपनर अयुब र फहरानले १७.२ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए ।

मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए । मध्यक्रमका ब्याटर ठूलो सटको चक्करमा आउट भए ।

तर छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए । भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए ।

हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भने पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी