बगान समाज परिवर्तन गर्ने चलचित्र : उपसभामुख राना

बगान समाज परिवर्तन गर्ने चलचित्र : उपसभामुख राना : Icon Khabar

काठमाडौं, असार २८ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताएकी छन् । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।

‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयाश गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ’, उपसभामुख रानाले भनिन् । समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

‘एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ’, उनले भनिन् । विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँशु रोक्न नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘यसमा कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनु भएको पाए । अभिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको पाए ।’

अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन् । ‘यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।’ उनले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गरे ।

यसै चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन् । उनले भनिन्, ‘निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरें । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।’

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बनेका अभिनेता खनालले आफूलाई कथावाचक भन्न रुचाए । उनले भने, ‘मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।’

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । सो चलचित्र यही असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

Published Date: 13 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु