पर्यटन मन्त्री किराती र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

पर्यटन मन्त्री किराती र बेलायती राजदूत निकोलाबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, जेठ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए।

युरोपेली सङ्घ (इयू) ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचिमा राखेको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो ।

सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको पछिल्लो ‘अडिट’ले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।

उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एसिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७० दशमलव एक प्रतिशत अङ्क प्राप्त गरेको छ जुन एसिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नीमा सिधा उडानका लागि प्रक्रिया थालेको सन्दर्भमा यो भेटलाई निकै चासोका साथ हेरिएको छ । वायुसेवा निगमले बेलायतको लण्डनमा विगतमा सिधा उडान गरेको थियो ।

यस्तै भुतपूर्वगोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल भएकोले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2023
Website | + posts