भोलि देखि देशभर एसईई सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

भोलि देखि देशभर एसईई सुरु हुँदै, सम्पूर्ण तयारी पूरा : Icon Khabar

भक्तपुर, चैत १६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्षको एसइई भोलि बिहान ८ बजेदेखि देशभर हुँदैछ,

“एसईईको सम्पूर्ण तयारी पूरा भएको छ। यसका लागि ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग भर्चुअल बैठक गरिएको छ। हामीले परीक्षा शान्तिपूर्ण, अनुशासित र व्यवस्थित रुपमा सञ्चालन गर्न सबैलाई अनुरोध गरेका छौं”,राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

सबै परीक्षा केन्द्रमा निरिक्षक नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र उत्तरपुस्तिका लिनेलगायतका परीक्षासँग सम्बन्धित सबै काम सम्पन्न भएको शर्माले बताए ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बोर्डको निर्देशनमा प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठित प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेशमा परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए ।

प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सम्मिलित जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा निरीक्षक तोक्ने, सरोकारवालालाई अभिमुखीकरण गर्नेलगायतका आवश्यक काम सम्पन्न गरेको उनले बताए । लगभग ५००,००० परीक्षार्थीहरु सहभागी हुँदैछन्।

परीक्षा नियन्त्रक श्रेष्ठले कक्षा ९ मा अध्ययनरत ५ लाख १६ हजार ५९१ विद्यार्थीले २०२२ को एसइईका लागि दर्ता फारम भरे पनि कक्षा १० मा ४ लाख ८४ हजार २ सय २७ जनाले परीक्षा फारम भरेको बताए ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा १ लाख ६ हजार ९५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ उम्मेदवार छन् । प्राविधिक स्ट्रिममा करिब १५ हजार विद्यार्थीले परीक्षा दिनेछन् ।

त्यसैगरी यस वर्षको एसइईमा ६५ विद्यालयका २९८२ विद्यार्थी संस्कृत र ५० दृष्टिविहीन विद्यार्थीले परीक्षा दिइरहेका छन् । यस वर्षको एसइईमा ७ हजार २ सय सामुदायिक र ४ हजार ५६४ संस्थागत विद्यालयसहित ११ हजार ८ सय २९ विद्यालयका विद्यार्थी बसेका छन् ।

एसईईका लागि कुल २०३७ परीक्षा केन्द्र तोकिएको छ । जसमा ७७ जिल्लाका २०३६ परीक्षा केन्द्र र जापानको एउटा परीक्षा केन्द्र समावेश छ।

एसइई सञ्चालनका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts